लुम्बिनी प्रकरणः मार्गप्रशस्त गर्न पोखरेललाई काँग्रेसको चेतावनी

डिसी नेपाल
१९ वैशाख २०७८ १९:२७

काठमाडौं। आइतबार विपक्षीहरुले बहुमत देखाउँदा देखाउँदै प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय भएको बताएका छन्।

उनले भनेका छन्, ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भत्सर्ना गर्दछु।’

आइतबार प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो। मुख्यमन्त्री पोखरेलले सो प्रस्तावमाथि छलफल हुनु अघि राजीनामा दिएपछि राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको थियो। त्यसपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलले पोखरेललाई पुनः मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरे। तर उनलाई मुख्यमन्त्री नियुक्त गर्नुअघि बहुमत सांसदको हस्ताक्षरसहित विपक्षीहरुले आफूले सरकार बनाउने दावी प्रदेश प्रमुख समक्ष गरेका थिए। तर प्रदेश प्रमुखले एमालेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे। तर, हालसम्म उनको शपथ ग्रहण हुन सकेको छैन।

यही विषयमा कााग्रेस सभापति शेरबहादुर देउवाले भनेका छन्, ‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन।’

उनले अगाडि भनेका छन्, ‘नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मूल्य मान्यता विपरीतको ब्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ। संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो’

काँग्रेसले लुम्बिनी प्रकरणलाई अधिनायकवादी चरित्र भनेको छ। सभापति देउवाले भनेका छन्, ‘केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ। बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपील गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *