आजदेखि २५ प्रतिशत कर्मचारीबाट बैङ्किङ सेवा

डिसी नेपाल
२० वैशाख २०७८ ७:३९
144
Shares

काठमाडौँ। बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ।

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो।

सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि बिहीबारदेखि काठमाडौँ उपत्यकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिसकेको छ।

राष्ट्र बैङ्कले विभिन्न निकायबाट जारी भएका/हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ।

निषेधाज्ञाको समयमा पनि बैङ्किङ सेवा अत्यावश्यकीय भएको र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने भएकाले कर्मचारीको उपस्थिति थोरैभन्दा थोरैमा सेवा प्रदान गर्न राष्ट्र बैङ्कले मातहतका वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स तथा माइक्रोफाइनान्स कम्पनीलाई निर्देशन दिएको हो।

अनावश्यक कर्मचारीको उपस्थिति रोक्न डिजिटल प्रविधिमार्फत कारोबार बढाउन र भौतिक सेवालाई न्यूनीकरण गर्न राष्ट्र बैङ्कको निर्देशन छ। कर्मचारीलाई पनि सक्दो घरैबाट र दूर पहुँचबाट काम गर्न जोड दिनसमेत निर्देशनमा उल्लेख छ। गाेरखापत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *