एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको दावी नपुग्ने ठहर
काठमाडाै। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन्।
राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाइएको छ।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दावी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दावीकर्ता कांग्रेस सभापति देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ।
त्यस्तै सभापति देउवालाई कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दावीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ।
राष्ट्रपतिले शुक्रबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गरेकी थिइन्।







डिसी नेपाल








Facebook Comment