कमेडियन आदर्श मिश्राले पिता गुमाउनुमा प्रणाली दोषी कि अस्पताल ? के छ कानुनमा व्यवस्था ?

सम्भव सिंह ठकुरी
१४ जेठ २०७८ १५:०६

काठमाडौं। नेपालका स्ट्यान्डप कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको मंगलबार निधन भएको छ। र, आदर्शले पिताको मुत्यु हुनुमा नेशनल मेडिकल कजेज (एनएमसी) का संचालक बसुरुद्धिन अन्सारीको गुण्डागर्दीका कारण भएको भन्दै उनले नारायणी अस्पताललाई समेत दोषी ठहेका छन्।

विगत ४ वर्षदेखि मिर्गौलाको समस्यासँग जुध्दै आएका विनोदको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भनेर आदर्श स्वयंले भनेका छन्। अहिले यही कुराले सामाजिक सञ्जालमा मेडिकल सञ्चालक र सरकारले नागरिकको स्वस्थ्यमा खेलवाड गरेको भन्दै सरकारको सर्वत्र विरोध भएको छ।

मिश्राले आफ्नो व्यक्तिगत युटुब च्यानलमा भिडियो सार्वजानिक गर्दै भनेका छन्, ‘विगत ४ वर्षदेखि वीरगंजको नारायणी अस्पतालमा बुबाको डायलासिस गराउँदै आएका थिएँ।’ तर अस्पतालले पटक पटक बुवाको स्वस्थ्यमा लापरवाही गरेको र हप्ताको २ पटक ४–४ घण्टा डायलासिस गराउँदा धेरै सास्ती भोगेको उनले बताएका छन्। मिश्राले भनेका छन् ‘दुई हप्ता अगाडि बुवालाई डायलासिसामा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर नेशनल मेडिकल कलेज (एनएमसी) बाट निकालिदिएको हो। चार वर्षदेखि बुवाले एनएमसीमा डायलासिस गराउनुभएको हो। प्रति डायलासिसको सरकारले ३५ सय लिन्छ। कमाउने बेला तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो परेको बेला धपाइदिने ?’

उनले अगाडि भनेका छन् ‘एनएमसीमा मेसिनहरु केही पनि राम्रो छैन। एनएमसीको कन्ट्रयाक्ट नेफ्रो प्लस कम्पनीले लिएको छ, जुन भारतीय कम्पनी हो। उक्त कन्ट्रयाकमा कार्यरत भारतीय कर्मचारीले नेपालको नागरिकको डायलासिस हुन्छ, हुँदैन र को बाँच्छ ? को मर्छ ? भन्ने निर्णय गर्ने अधिकार उनीहरुलाई छैन ।’ नेपाली बिरामी हप्काउने अधिकार ती भारतीयलाई नभएको उनले भनेका छन्।

सोमबार पनि अस्पतालले ४ घण्टा डायलासिस गराउनु पर्नेमा ३ घण्टामात्र गरिदिएको उनले आरोप लगाएका छन् । १ घण्टा चाँडो घर जाने नर्सको हतारले बुवा कहिल्यै आफ्नो घर फर्कन नसक्ने बनाईदिएको आदर्शको वेदना छ। यसपछि उनले राम्रो उपचार गराउनका लागि भन्दै चितवनको भरतपुर ल्याएका थिए। तर मंगबार बिहान भरतपुर अस्पतालमा बिनोदको मृत्यु भयो।

मृत्युको अहिलेको घटनामा एनएमसी अस्पतालको दोष देखाएका आदर्शले बुवा विनोदको मृगौला प्रत्यारोपण गर्ने बेला मृगौलादाता अर्थात् आफन्त भारतीय भएकाले नै नपाएको भन्ने कुराहरु पनि सार्वजानिक भएका छन्। बारा जिल्लाको जीतपुर नगरपालिकाका स्थायी बासिन्दा विनोद मिश्रा, स्थानीय सरकारी विद्यालयका शिक्षक थिए । उनी सोही विद्यालयका प्रधानाध्यापक समेत थिए।

छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका नेपालका अधिकांश तराईका जिल्लामा परम्परागत रुपमा पुस्तौँदेखि भारतसँग रोटीबेटीको सम्बन्ध कायम छ। त्यसकारण आदर्शको मावली पनि भारत हुन पुग्यो। मृगौला रोगसँग जुधिरहेका पिता विनोदलाई लिएर २ वर्ष पहिले आदर्श मृगौला प्रत्यारोपणबारे बुझ्न काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पताल आएका थिए।

मृगौला प्रत्यारोपण गर्न मिल्ने तर मृगौलादाता भारतीय भएको भन्दै अस्पतालले कानूनी जटिलता देखाएर ‘तिमीहरु कहाँ बिहे गर्छौ, हामीलाई मतलब भएन नेपालमा बिहे गरेको भए प्रत्यारोपण हुन्थ्यो’ भनेर अस्पतालले हकारेको कुरामा आदर्शको गुनासो छ। यही कारण उनले नेपालको स्वास्थ्य उपचार प्रणालीप्रति आक्रोश व्यक्त गरेका थिए।

उनका अनुसार ठूलीआमा अर्थात् विनोदका जेठी सासु आफ्नो मृगौला दिन तयार थिइन् तर कानुनी जटिलता देखाएर उनको मृगौला विदोदको शरीरमा प्रत्यारोपण गरिएन । दुई चोटी मृगौला फेरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं पनि उक्त समय प्रधानमन्त्री पदमा आसिन नभएका भए पुनः मृगौला प्रत्यारोपण गर्न नसक्ने उनको दावी छ। सामान्य नागरिकको हकमा यती धेरै सास्ती दिएको आरोप लगाउँदै उनले भनेका छन्, ‘मेरो बुवाले चलाएको स्कुल जति पनि प्रधानमन्त्री ओलीले देश चलाउन सकेनन्।’

नेपालको प्रचलित कानूनमा के छ व्यवस्था ?

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १५ को उपदफा १ ले नजिकको आफन्तबाट मानव शरीरको अङ्ग प्रत्यारोपण गर्न सकिने भनेको छ। त्यस्तै, मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) निर्देशिका २०७५ को दफा ७ को उपदफा ५ ले यदि नातेदार विदेशी छ भने त्यो हकमा सम्बन्धित विदेशी नियोगबाट नाता प्रमाणित गर्नु पर्नेछ भनेको छ।

निर्देशिकाको व्यवस्थाअनुसार आदर्शकी ठूलीआमा विदेशी भएपनि उनले विनोद मिश्रालाई मृगौला दान गर्न सक्ने व्यवस्था भएको देखिन्छ। कानूनमा यस्ता कुराहरु उल्लेख हुँदा हुँदै बुवाले प्रत्यारोपण गर्न नपाएकोमा सरकार र मेडिकल संचालकलाई आदर्शले दोषी ठह¥याएका छन्। सामाजिक सञ्जालका भित्ताहरुमा पनि यो विषयको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै चर्को विरोध भएका छन्।

मृगौला प्रत्यारोपणमा लामो समयदेखि काम गरेका तथा राष्ट्रपतिबाट उत्कृष्ट स्वास्थ्य सेवाबाट सम्मानित भइसकेका प्रत्यारोपण चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार आदर्शको उक्त समस्यामा कानूनी आधार खोजिएता पनि विनोदकी जेठी सासु अर्थात आदर्शकी ठूलीआमाले मृगौला दिन मिल्छ ।

उनले भने, ‘कानूनले यो विषयमा नाता प्रमाणित खोज्छ, त्यसकारण मिश्राका आफन्त भारतीय भएको हकमा भारतीय राजदुतावासबाट नाता प्रमाणित गर्नुपर्ने हुन्छ। त्यो प्रमाणको आधारमा जुनसुकै देशको नागरिकले पनि मृगौला दान गरेर अर्को देशका नागरिक आफन्तलाई प्रत्यारोपण गर्न सक्ने उनको तर्क छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *