‘सरकार नै छोरा भयो, बुढेसकालको सहारा भयो’

डिसी नेपाल
१९ जेठ २०७८ ६:३५

सप्तरी । राजविराज नगरपालिका – १ की ९० वर्षीया बौकीदेवी राम सरकारले वृद्धा भत्ता बढाएपछि दङ्ग परेकी छिन्। गाउँमा जो भेट्यो उसैले रामलाई बृद्धभत्ता चार हजार रूपैयाँ भएको सुनाउने गरेकाले उनी खुशीले गद्गद् भएकी हुन्। राम भन्छिन्, ‘हाम्रो लागि सरकार नै छोरा भयो, बुढेसकालको सहारा भयो।’

रामको श्रीमान् बितेको १० वर्र्ष भयो। अहिले उनको गुजारा बृद्ध भत्ताबाटै चलिरहेको छ। सरकारले यो वर्ष थप बृद्धि गरेकोले उनले गुजारा गर्न केही सहयोग पुग्ने विश्वास गरिन्। उनी विवाहको बेलाको कुरा संझना गर्दै भन्छिन्, ‘सानैमा विवाह भयो, श्रीमान्को घर आउँदा ५ सय, एक हजार रूपैयाँ आफ्नो हातले खर्च गर्न पाएकी थिँए ,’ ‘चार हजार खर्च गर्न पाएपछि त सरकार नै छोरा जस्तो भएन त ?’ उनको प्रश्न थियो।

रामको आफ्नो जग्गा जमिन छैन। श्रीमानले मजदुरी गरेर ल्याएको पैसाले जसोतसो पाँच सन्तान सहित सात परिवारले दुई छाक हातमुख जोड्न पाइरहेका थिए। यसअघि उनले नेपाल सरकारले दिने भत्ता प्रत्येक चार चार महिनामा १२ हजारका दरले लिने गरेकी थिइन्।

बृद्धा भत्ताकै कारण अहिले उनको परिवारमा इज्जत र महत्व बढेको उनको अनुभुति छ । मासिक आउने भत्ताको रकम घरखर्चको लागि दिँदा परिवारका सदस्यहरु खुसी हुने गरेका छन्। कतिदिन त त्यही भत्ताको पैसाले खान, लगाउन, औषधी उपचार गर्न पाएको रामले बताइन्। रामले कहिलेकाँही छोरा, नातिनातिनालाई परेको बेला बृद्धभत्ताबाटै अ‍ैंचो पैँचो चलाउने गरेकी छन्।

भत्ताकै कारण रामलाई पसलमा उधारो सामान माग्दा पत्याउँछन्। समयमा काम लाग्छिन, भनेर छिमेकीहरूले समेत उनलाई आदर भावले सम्मानित व्यवहार गर्दै आएका छन्। उनको तर्क छ, बृद्धभत्ता नहुँदो हो त घरपरिवार र समाजवाट सम्मान समेत पाउन मुश्किल हुन्थ्यो।’

राम भन्छिन्, ‘जन्म दिएको आफ्ना सन्तानले मेरो आवश्यकता पूरा गर्न नसके पनि नेपाल सरकारले दिदै आएको वृद्ध भत्ताबाट सबै आवश्यकता पुरा हुदै आएको छ ।’

राजविराज नगरपालिका –१ की ७० वर्षिया ननुदेवी रजकको पनि प्रत्येक ४ महिनामा १२ हजार रूपैया वृद्धा भत्ता थाप्न थालेपछि उनको जीवन शैली नै फेरिएको छ। आउँदो साउनदेखि प्रत्येक महिना चार हजारको पाउने जानकारी उनको नातिले दिएपछि झनै हर्षित भएकी छिन्।

रजकले भनिन्, ‘हाम्रो जीवनको सबैभन्दा आवश्यक सम्पत्ति नै बृद्धा भत्ता हो। सरकारले हाम्रो आवश्यकता बुझेर बढाएकोमा धन्यवाद छ।’

उनले वृद्धा भत्ता थाप्न थालेको सात वर्ष भएको छ। रजकले थपिन, ‘बाल्यकालदेखि गरिबी र रूपैयाँको अभावमा मावनीय जीवनको आनन्द लिन पाएको थिइन्।’ वृद्धा भत्ता पाउन थालेपछि जीवनको आनन्द महशुस गर्न सफल भएको उनको भनाइ रहेको छ।

रजकको कथन छ, ‘हामी गरिबलाई जीवनमा कुनै सुख प्राप्त गर्न रूपैयाँ बिना असंभव हुन्छ।’ प्रयाप्त आम्दानी नभएकोले शिक्षाको बाटो समाउन भन्न नसकेको उनको पीडा छ। उनले भनिन, ‘नेपाल सरकारले हामी जस्तो गरिबका लागि भत्ता दिएर सहारा बनिदिएको छ।’

सप्तरीको मधवापुर बस्ने ६५ वर्षिया रेनुदेवी झा एकल भएको ५ वर्ष भयो। उनले ४ वर्षदेखि एकल महिलाले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता मासिक दुई हजार रूपैयाँका दरले चार चार महिनामा उठाउँदै आएकी छिन्। त्यहि पैसा उनको जीवनको साहारा बनेको छ।

झा जहिले पनि चार महिना कहिले बित्ला भन्दै दिन गन्न थाल्छिन्। बैंकमा पैसा आएको जानकारी पाउनेवित्तिकै पैसा झिकेर चार महिलाको खर्चमा कसलाई कति दिने र आफू के के किन्ने भनेर जोड घटाउ गर्न थाल्छिन्।

कोसँग कति लिएको छु? कति तिर्नु छ, कति रूपैयाँको के किन्ने, कति कुन नाति नातिनीलाई दिने ? भनेर बैंकदेखि घर पुग्ने बेलासम्म मनमा कुरा खेलाइ रहन्छिन्।

उनी भन्छिन्, ‘श्रीमान् बतेपछि यो रकम मेरो लागि साहारा नै बनेको छ।’ चार छोरी र दुई छोरा भएपनि सबैको आ–आफ्नै समस्या रहेको उनको भनाइ छ। झाले थपिन, ‘छोराहरूको राम्रो आम्दानी छैन्, उनीहरूको पैसाले आफैलाई पुग्दैन।’ ‘मेरो जीवनको आशा र भरोसा यही रूपैयाँ हो, यसले मेरो जीवनलाई सरल बनाएको छ’ झाले भनिन्। भत्ताले सबै नसके पनि अत्यावश्यक खाँचो टार्न सकेको उनको भनाई रहेको छ।

उनले भनिन्, ‘सरकारले बृद्धाभत्ता बढाएको सुन्दै छु, एकल महिलालाई दिने भत्ता सहारा बनिरहँदा एकल महिलालाई दिने भत्तामा बृद्धि गरे नगरेको बुझेको छुइँन। ’ ‘हाम्रो पनि भत्ता बढाउने आशामा छु’ झाले बताइन्।

एकल महिलाकी माहिली छोरी रूबी झा चौधरी भन्छिन्, ‘आमाको सबैभन्दा खुशी त्यो पैसामा नै छ। छोराछोरीले कहिलेकाहीँ दिएपनि आमालाई अरूले दिएको जस्तो लाग्छ।’ सामाजिक सुरक्षा भत्तामा आफ्नोपन झल्किन्छ अनुभुति आमाले गरेको उनले सुनाइन्। ‘स्वतन्त्र भएर खर्च गर्न सक्ने हुनाले यसप्रति मोह पनि धेरै छ,समस्या पनि यसले धेरै टार्छ’ झाको धारणा रहेको छ।

ज्येष्ठ नागरिकभन्दा एकल महिलाको जीवनमा सामाजिक सुरक्षा भत्ताले महत्वपूर्ण योगदान पुर्याउँदै आएकोले उनीहरूलाई दिँदै आएको भत्तामा पनि सरकारले बृद्धि गर्नुपर्ने झाको तर्क छ।

ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका सचिव बैद्यनाथ झाले सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमा वृद्धाभत्ता बृद्धि गरेको एकदमै सकारात्मक कदम रहेको बताए।

बृद्धाभत्ता दिन शुरू भएदेखि नै ज्येष्ठ नागरिकको लागि निकै फलदायी भएको सचिव झाको तर्क छ। उनले भने, ‘सरकारको यो कदमबाट ज्येष्ठ नागरिक हरेक क्षेत्रमा लाभान्वित भएपनि सबभन्दा बढी उनीहरूको लागि चाहिने औषधी उपचारमा परिवारलाई राहत भएको छ।’

राजविराज नगरपालिकाको वडा नंं ७ को वडा कार्यालका सामाजिक शाखा प्रमुख कल्पना देवका अनुसार ७० वर्ष पुगेको प्रत्येक ज्येष्ठ नागरिकलाई राज्य कोषबाट सामाजिक सुरक्षा बापत २ हजार र औंषधी बापत १ हजार गरि प्रत्येक महिना ३ हजार दिने व्यवस्था छ । उक्त रकम प्रत्येक ४ महिनामा १२ हजार रूपैयाँ पु-याएर बैंकको खातामा राखिदिने गरेको छ ।

देवका अनुसार यसपटकको बजेट भाषण अनुसार आउँदो आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकले वृद्ध भत्ता बापत प्रतिमहिना ४ हजार पाउने भएका छन् ।

दलितलाई ६० वर्ष पुगेपछि र महिला एकल भएपछि सामाजिक सुरक्षा भत्ता बापत प्रति महिना २ हजार पाउने गरेका छन् ।
राज्यले दिएपनि केही ज्येठ नागरिकले आफुले त्यसबाट एक पैंसा पनि पाउन नसकेको गुनासो गर्दे वाडा कार्यालय आउने गरेको देव बताउँछिन् ।

कतिको छोराछोरीले ज्येष्ठ नागरिक आमाबाबुबाट आफू अशक्त रहेकोले पैसा उठाउन, बैंक जान नसकेको गुनासो लिएर वडा कार्यालय जाने गरेका छन् छोराछोरी, बुहारी वा नातिनातिनाको नाममा मञ्जुरनामाको लागि सम्बन्धित गाउँपालिका, नगरपालिका वा वडा कार्यालयमा निवेदन आउने गरेको छ ।

देवले भने, ‘मञ्जुरनामाको सिफारिसका लागि निवेदन दिएपछि सम्बन्धित कार्यालयले बैंकलाई निवेदन लेखिदिएपछि सो ज्येष्ठ नागरिकको लागि आएको रकम उक्त व्यक्तिलाई दिने गरेको छ ।’ व्यवहारमा त्यसरी निकालिएका मध्ये केहीले बृद्धबृद्धालाई एक सुको पनि पैसा नदिएको उजुरीहरु समेत पर्ने गरेको देवको कथन छ ।

कतिपय ज्येष्ठ नागरिकलाई बैंकले पैसा दिएपनि चलाउन नपाउदै छोराछोरी, बुहारी नातिले लिने गरेको पाइएको छ । स्वतन्त्र रूपमा खर्च गर्न पाउनेभन्दा यस्ता समस्या भएका ज्येष्ठ नागरिक संख्यात्मक हिसाबले न्यु रहेको देवको देवको कथन छ ।

अधिकारका लागि एकल महिला समूह सप्तरीका अध्यक्ष अनिता देवकोटाले चाहे एकल महिला होस् वा ज्येष्ठ नागरिक उनीहरूको जीवनमा सामाजिक सुरक्षा भत्ता संजिवनी बुटीको काम गरिराखेको अनुभव पोखिन्।

देवकोटाले भनिन्, ‘केही नभएकोहरूका लागि सबै थोक यही भत्ता भएको छ । हुनेको लागि पनि यसले ठूलो महत्व राखेको छ ।’
भत्ताको रूपैयाँबाट हरेक क्षेत्रमा उनीहरूको जीवनमा नै परिवर्तन ल्याएकोले आउँदो आर्थिक वर्षमा एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्तामा पनि वृद्धि गर्नुपर्ने माग अध्यक्ष देवकोटाले गरिन्।

संचारिका समूह नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *