बोधिसत्वा विहार काठमाडौंद्वारा ३० लाखको स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
२१ जेठ २०७८ ६:३८
52
Shares

कास्की । बोधिसत्वा विहार काठमाडौँले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासङ्घ कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत रु ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्थानीय व्यवस्थापन संयोजक दीननाथ बरालले बताए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल, शिशुवा कोभिड अस्पताल, कास्कीका चार गाउँपालिका, पत्रकार महासङ्घ कास्की, फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशसहितका विभिन्न सङ्घसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। पोखराका तीन अस्पताललाई १० लिटरको दुई/दुई र पाँच लिटरको तीन/तीनवटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको संयोजक बरालले बताए। यसैगरी अस्पताललाई जनही एक/एक सय पिपिइ सेट, एक/एक कार्टुन औषधि, मास्क, स्यानिटाइजर, फिनेल, ह्याण्डवास, फेसशिल, अक्सोमिटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा शरदचन्द्र बराल, सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचन, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडी, पत्रकार महासङ्घका अध्यक्ष विमला भण्डारीलगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । महानगर प्रमुख जिसीले स्वास्थ्य सामग्रीलाई आवश्यकताका आधारमा प्रयोग गर्ने बताउँदै महामारीका बेला निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेको बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *