राखेपका प्रथम कुस्ती प्रशिक्षक विद्यासागरको निधन

डिसी नेपाल
२१ जेठ २०७८ २२:२६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद(राखेप)का प्रथम कुस्ती प्रशिक्षक विद्यासागर पोखरेलको असामयिक निधन भएको छ । नेपाल कुस्ती संघका प्रथम महासचिव/वरिष्ठ कुस्ती प्रशिक्षक एवं राखेप तालिम तथा प्रशिक्षण विभागको पूर्व उप–निर्देशक पोखरेलको आज(शुक्रबार) हृदयघातका कारण निधन भएको हो ।

विद्यासागरका छोरा बिक्रम सागर पोखरेलका अनुसार काठमाडौंको कीर्तिपुरस्थित निवासमा एक्कासी बेहोस भएका उनको कीर्तिपुर अस्पताल पुर्याएर चेक गर्दा मृत्यु भइसकेको थियो ।

बिक्रम सागरले भने, ‘बुबालाई पहिलेदेखि नै छारे रोग थियो । कहिले काही भेटिराख्थ्यो । बिहान बारिमा काम गर्नु भयो अनि खाना खाएर लगभग ११ बजेतिर बाबा र मुवा बाहिर बस्नु भएको थियो । अनि मुवाले मलाई एक्कासी फोन गर्नु भयो । घरको माथिल्लो तलाबाट बाबालाई फेरि रोगले भेटेछ भनेर पहिलेको जस्तै नर्मले ठानेर तल झरे । अनि बाबालाई यसो छामछामु गरे पहिला हुने भन्दा फरक पाए । सधैं पाँच मिनेटमै होस आइहाल्थ्यो तर आज त १० मिनेट बितिसक्दा पनि आखा खुलेन । त्यसपछि त आत्तिएर एम्बुलेन्सलाई बोलाएको हो र एम्बुलेन्स पनि १० मिनेटभित्रै आइपुगेको थियो ।’

पोखरेल कुस्तीका अन्तर्राष्ट्रिय निर्णायक पनि थिए । उनले बंगलादेशको ढाकाबाट अन्तर्राष्ट्रिय निर्णायकको परिक्षा उत्तीर्ण गरेका थिए ।

फुटबलका खेलाडीको रुपमा खेल जीवन सुरु गरेका पोखरेलले सन् १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण लिएका थिए । त्यसपछि उनी राखेपमा नियुक्त भएका थिए । उमेर हदका कारण केहि वर्षअघि उनी राखेपबाट सेवा निवृत्त भएका थिए ।

नेपालमा कुस्ती खेलको बिस्तार र विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ । उनकै प्रशिक्षणमा नेपालले दक्षिण एशियाली खेलकुद लगायतका प्रतियोगतामा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ भने उनकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरु उत्पादन भएका थिए ।

२०१५ सालमा जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथोबाट विभुषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *