जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा
काठमाडौं। युईएफए युरो २०२० फुटबलमा जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ।
लण्डनस्थित वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न नकआउट चरणको सातौं खेलमा उपाधि दाबेदार जर्मनीलाई २ – ० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो।
इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ र ह्यारी केनले एक एक गोल गरे।
स्ट्रलिङले दोस्रो हाफको ७५ औं मिनेटमा लुक शले उपलब्ध गराएको पासमा गोल गर्दै घरेलु टोलि इंग्ल्याण्डलाई १ – ० को अग्रता दिलाएका थिए।
निर्धारित समयको अन्तिम अर्थात ८६ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई २ – ० को जित दिलाए। केनले ज्याक ग्रेलिसको सुन्दर पासमा हेडर गोल गरेका हुन।
खेलको पहिलो हाफ गोलरहित बरबरीमा सकिएको थियो।
पहिलो हाफमा दुवै टिमले गोल गर्ने धेरै अवसर सिर्जना गर्न सकेनन। दुवै टिमले डिफेन्सिभ खेल खेलेका कारण पहिलो हाफ गोलरहित बरारीमा सकिएको थियो।
दुवै टिमले गोल गर्ने केही सुनौला अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन।
रहिम स्ट्रलिङले १६ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको लङ रेञ्ज प्रहार जर्मनीका गोलकिपर म्यानुएल नोएरले उत्कृष्ट बचाव गरेका थिए।
खेलको ३४ औं मिनेटमा टिमो वर्नरले पेनाल्टी बक्स भित्र पाएको पासमा गोल गर्न चुके। उनले गरेको प्रहार इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले चनाखो हुँदै बचाव गरेका थिए।
पहिलो हाफको अन्तिम समयमा इंग्ल्याण्डका ह्यारी केनले गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेनन।
दोस्रो हाफको सुरुवाती समय ४९ औं मिनेटमा जर्मनीका लागि काई हावर्टजले गोल गर्ने अवसर पाएका थिए। रिबाउन्डमा पेनाल्टी बक्स बाहिर प्राप्त बलमा उनले प्रहार गरेको बल इंग्ल्याण्डका गोलकिपर पिकर्फोडले उत्कृष्ट बचाव गरे।
खेलको ८३ औं मिनेटमा जर्मनीका कप्तान थोमस मुलरले खेल बराबरीमा ल्याउने सुनौलो अवसर पाएका थिए। किपरसँग वान टु वानको अवस्थामा उनले प्रहार गरेको बल गोल पोस्ट नजिकैबाट बाहिरीएको थियो।
जितसँगै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डले सेमिफाइनलका लागि स्विडेन र युक्रेनबीचको विजेतासँग प्रतिस्प्रधा गर्ने छ।
हारसँगै उपाधि दाबेदार जर्मनी अन्तिम १६ बाट बाहिरीएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment