आश्चर्यजनक आँपको रुख, एउटै रुखमा फल्छन् १ सय २१ फरक–फरक प्रजातिका आँप
काठमाडौं। आँपका विभिन्न प्रजाति हुन्छन् । प्रजातिअनुसार ती आँपका फलको स्वाद पनि फरक फरक हुन्छन् । मानिसहरु पनि फरक फरक प्रजातिका आँप खान रुचाउँछन् । तर के एउटै रुखमा धेरै प्रजातिका आँप फल्न सक्भव छ ? भारतको उत्तर प्रदेशमा एउटा यस्तो आँपको रुख छ जुन रुखमा १ सय २१ फरक फरक प्रजातिका आँप फल्छन् ।
यो अनौठो आँपको रुख हेर्न टाढा टाढाबाट मानिसहरु आइरहेका छन् र यो जान्ने कोसिस गरिरहेका छन् कि एउटै रुखमा यति धेरै प्रजातिका आँप फल्न कसरी सम्भव भयो । समाचार एजेन्सी एएनआइका अनुसार उत्तर प्रदेशको सहारनपुरको यो आँपको रुख विशेष तरिकाले हुर्काइएको हो त्यसैले यसमा यति धेरै प्रजातिका आँप फल्छन् । यो आँपको रुखलाई तयार गर्न करिब ५ वर्षको समय लाग्यो । यति लामो प्रयत्नपछि अन्ततः यो रुखमा फरक फरक प्रजातिका आँप फल्न थालेका छन् ।
सहारनपुरको कम्पनी बाग क्षेत्रमा आँपको एक रुख थियो । यो रुख रोपिएको १५ वर्ष भयो । तर, यसलाई फरक फरक आँप फल्नेगरी विकसित गर्ने काम भने ५ वर्ष पहिले मात्र सुरु गरिएको हो । सहारनपुरको हर्टिकल्चर एण्ड ट्रेनिङ सेन्टरका ज्वाइन्ट डाइरेक्टर भानुप्रकाश रामका अनुसार तत्कालीन ज्वाइन्ट डाइरेक्टर राजेश कुमारले ५ वर्षअघि यो रुखमा १२१ फरक फरक आँपका हाँगाहरु ग्राफ्टिङ (कलमी) गरेर जोडेका थिए । त्यसपछि यसको हेरचाहका लागि छुट्टै नर्सरी इन्चार्ज नियुक्त गरिएको थियो ।
५ वर्षको प्रतिक्षापछि यस वर्षदेखि यो रुखमा फरक फरक प्रजातिका आँप फल्न थालेका छन् । यो रुखमा दशहरी, लंगडा, रामकेला, चौसा, आम्रपाली, सहारनपुर अरुण, सहारनपुर बरुण, सहारनपुर सौरभ, सहारनपुर गौरव, सहारनपुर राजीव, लखनउ सफेदा लगायत १२१ किसिमका आँप फल्छन् । यसबाहेक अन्य नयाँ प्रजातिहरुबारे पनि काम भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment