अबको महाधिवेशनमा रुपान्तरणको आवश्यकता छ : बद्रि पाण्डे

सम्भव सिंह ठकुरी
२५ असार २०७८ १४:११

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौमा गर्नैपर्ने संवैधानिक बाध्यता भएसँगै यतिबेला पार्टी महाधिवेशनको सरगर्मी बढ्न थालेको छ। बेलाबेलामा पुस्तान्तरणको बहस भएपनि आगामी महाधिवेशनमा नेतृत्वको होडबाजीका लागि पुरानै नेताहरु दावा गरिरहेका छन्।
भदौमा हुने आसन्न १४ औँ महाधिवेशनमा केन्द्रित रहेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेसँग कुराकानी गरिएको सम्पादित अंशः

अब कांग्रेसलाई महाधिवेशन लागेकै हो?

हो, अब हामीले वैधानिक सीमा पनि धेरै छैन। यो संविधान र विधानले पनि हामीलाई त्यही निर्देर्शित गरेको छ। त्यसकारण तोकिएको समयमा हामीले जसरी पनि महाधिवेशन गर्नुपर्ने छ।

कोरोना महामारी, प्राकिृतिक विपत्को समस्या त छँदैछ तर त्यो भन्दा पेचिलो र महत्वपूर्ण विषय किृयाशील छानबिन हुनसकेको छैन नि?
नेता रमेश लेखकको संयोजकत्वमा रहेको छानवीन समिति अहोरात्र खटिराखेका छन्। ६ हजार ७ सय ४३ वडा मध्य अब २ सयको हाराहारीमा छानवीन हुन बाँकी छ।

अहिले उहाँहरुले हामीलाई र सार्वजानिक रुपमा आस्वस्त पारेअनुसार यो महिनाको अन्तिममा सबै समाधान हुने छ। र धेरै जटिल विवाद भयो भने त्यो कामलाई थाँती राखेर भएपनि शीर्ष नेतृत्व र पदाधिकारीबीच सहमति भएको छ र सोही अनुसार अधिवेशन हुन्छ।

यो अवस्थामा अधिवेशन गर्नु भन्दा वर्तमान सभापतिलाई दुई वर्ष निरन्तरता दिने अन्य युवा नेताहरु समेटेर पदाधिकारी थप्ने र २ वर्ष पछिका विशेष महाधिवेशमा शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरु उमेद्वार नबन्ने भन्ने चर्चापनि छ। यसमा केही सत्यता छ?

यो चर्चामा कुनै सत्यता भएजस्तो मलाई लाग्दैन। किनभने हामी १ वर्षदेखि अधिवेशन गर्ने तयारी भएपनि हुन नसकेकोले पार्टीको वैधानिकता कतै संकट पो पर्ने हो कि? भन्ने चर्चा र चिन्ता पार्टीभित्र व्यापक भएको हो।

अरु पार्टीमा हेर्नुहुन्छ भने एमालेको ०७१ सालमा महाधिवेशन भएको हो। मलाई सम्झना भएसम्म माओवादी केन्द्रको ०६९ साल देखि अधिवेशन भएको छैन।

उहाँहरुको ५ वर्षको अवधि समाप्त हुँदापनि संवैधानिक संकटको चर्चा भएन तर नेपाली कांग्रेसको हकमा भने विगत २ वर्षदेखि ५ वर्षमा पनि अधिवेशन नभएर संकटमा पो पर्छ कि? भन्ने चर्चा र चासो वृहत रुपमा भयो।

यसो हुुनुमा मलाई के लाग्छ भने नागरिक, मतदाता, शुभचिन्तक र संचारकर्मी, बृद्धिजीवीहरुले कांग्रेसले संवैधानिक दायरालाई नमिचोस् भनेर नेपाली कांग्रेसप्रतिको सद्भाव र प्रेम हो भन्ने लाग्छ। त्यसैले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले तर र परन्तु भनेर अधिवेशनबाट भाग्नु हुँदैन र भाग्दैन।

यहाँले भन्नुभयो कांग्रेस प्रतिको सद्भाव र प्रेम धेरै छ। कांग्रेसको प्रमुख विशेषता नै लोकतन्त्र हो भनेर दावा गर्नु हुन्छ। तर कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ? नेविसंघ र तरुणदलको अवस्था कस्तो छ? आन्तरिक लोकतन्त्र फितलो भएन र? यहाँ आफै नेविसंघबाट उदाउनु भएको हो।

यो तपाईँको कुरालाई व्यक्तिगत रुपमा सहर्ष स्वीकार गर्छु। नेपालको राजनीति र २००७ साल यताको सबै लोकतान्त्रिक आन्दोलनलाई हेर्ने हो भने जुनबेला ठूला ठूला परिवर्तन भए त्यो मिसनमा नेपाली कांग्रेस च्युत भएको छैन। हामीले गौरव गर्नुपर्ने ठाउँ छ।

तपाईँले भन्नुभएको आन्तरिक लोकतन्त्रमा जुन सुधार गर्नुपर्ने थियो। यो कुरा प्रारम्भदेखि नै समस्या भएको छ। पार्टीको स्थापना काल देखि नै वीपी कोइराला र डिल्लीरमण रेग्मीको दुई ओटा गुट भन्ने देखिन्छ।

त्यसयता देखिनै कहिले २ जनको नाममा गुट बन्ने कहिले ३ जनाको नाममा गुट बन्ने त्यो व्यवस्थापन हामीले अहिलेसम्म गर्न सकेका छैनौं त्यो कमजोरी देखिएको छ।

त्यसैको प्रतिफल पार्टीको महाधिवेशन पनि समयमै गर्न सकेका छैनौं। उदाहरणका लागि भन्छु २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेस १७ सालमा आइपुग्दा १४ वर्षको बीचमा हामीले सात ओटा महाधिवेशन गर्यौं।

पञ्चायतको ३० वर्ष हामी प्रतिबन्धित थियौँ। तर बहुदल पश्चात हामीले महाधिवेशन सुरु गरेको आजको मितिसम्म ३० वर्ष पुग्यो। यो ३० वर्षको बीचमा हामीलाई ७ ओटा महाधिवेशन गर्न हम्मे परेको छ।

त्यसैले मलाई यो सन्दर्भमा लागेको कुरा के छ भने देशलाई सही दिशामा ल्याउनु छ भने संविधान अक्षरक्ष पालना गर्नु पर्छ र पार्टीलाई सही गतीमा लानु छ भने विधानको पालना गर्नु पर्छ।

तर अहिले पार्टीभित्र विधान उलङ्घन गर्ने काम भएको छ। यो हुनुमा अहिलेको सभापतिलाई मात्र आरोप लगाउँदिन यो हुुनुमा सबै कार्यसमितिसहित म पनि दोषी छु।

विधान उलङ्घन हुने काम सबैबाट भयो भन्नुभयो अब विधान अनुसार अधिवेशन हुँदै छ। यहाँको नजरमा सक्षम सभापतिको उमेद्वार को हो त?
अहिले धेरैजना सभापतिको आकांक्षीमा देखिनु भएको त्यसकारण अहिले नै भनिहाल्न अलिक हतार हुन्छ। सभापतिको आकांक्षीहरुको भनाइ के छ भने सुरुमा स्थानीय तहको अधिवेशन समाप्त होस्।

अनि हामी केन्द्रमा के कसरी उमेद्वारी हुने भन्ने मनाशयमा हुनुहुन्छ। तर आमरुपमा कार्यकर्ता र नागरिकहरुले परिवर्तन चाहनु भएको छ। परिवर्तनको चाहना भनेको सभापतिदेखि पदाधिकारीसम्म रुपान्तरणको चाहना छ।

त्यसकारण अहिलनै यो, त्यो भन्ने समय नआएपनि स्थानीय कार्यकर्तादेखि केन्द्रसम्मको कार्यकर्ताको मनोविज्ञानमा परिवर्तको आवश्यक ठानेका छन्। त्यसैले आम कार्यकर्ताको भावना भनेको पुस्तान्तरण सहितको हस्तान्तरण खोजेका छन्।

हस्तान्तरण र पुस्तान्तरणको बहस चलिरहँदा जति आकांक्षी भएपनि शेरबहादुर देउवा र रामचन्द्र पौडेलनै बलियो दावेदारीका रुपमा देखिनुभएको छ, उहाँहरुलाई कसरी व्यवस्थापन गरेर तपाईँहरु नेतृत्वमा आउनु हुन्छ छ?

महाधिवेशनको संघारमा फलानो फलानो व्यक्तिले विश्राम लिनुस् भन्दा पूर्वाग्राही जस्तो हुन्छ। तर एउटा सैद्धान्तिक प्रश्न के छ भने कोही पनि देशको प्रधानमन्त्री वा पार्टीको सभापति अध्यक्ष उनले अलिक समय विश्राम लिएर बस्नु पर्छ।

किनभने म सभापति बनौंला या नबनौंला भन्ने मनोदशामा र सभापति बनौंला या नबनौंला भन्ने त्राशले जीन्दगीभर रहिरह्यो भने उसले देशका लागि र नयाँ पुस्ताको लागि के सन्देश दिने? त्यसलै अहिले शेरबहादुर देउवा, रामचन्द्र पौडेलमात्र हैन भोलि हाम्रो पुस्ताले पनि आफ्ना अनुभवहरु नयाँ पुस्तालाई हस्तान्तरण्न गर्ने समय चाँही राख्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *