सातामा कूल ५३ अन्तरराष्ट्रिय उडान हुने
काठमाडौं । सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ ।
क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान सङ्ख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान सङ्ख्या थप गर्ने निर्णय गरेको जनाइएको छ । नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान सम्बन्धित मुलुकका राष्ट्रिय ध्वजाबाहकले गर्नेछन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबार र एयर इण्डियाले सोमबार गर्नेछन् ।
यस्तै नेपाल एयरलाइन्सले यूएईको दुबईमा मङ्गलबार र बिहीबार तथा नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले आइतबार, मङ्गलबार र बिहीबार उडान भर्नेछन् । फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक÷एक उडान गर्नेछ ।
क्यानको उडान तालिका अनुसार कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एयरलाइन्सलाई साताको सोमबार, बुधबार र शनिबार उडान अनुमति दिइएको छ । उक्त एयरलाइन्सले साउदी अरेबियाको दमाममा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधबार र शनिबार सातामा दुई उडान पाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार उडान गर्नेछ ।
जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमबार, मङ्गलबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने तालिका छ । एयर अरेबियाले आबुधाबीमा आइतबार र मङ्गलबारको उडान तालिका पाएको छ । सिङ्गापुर एयरले हरेक आइतबार काठमाडौं उडान गर्नेछ ।
आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने
मुलुकको आन्तरिक हवाई उडानमा भने पूर्णरूपमा सञ्चालन हुने भएको छ । क्यानले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता क्षेत्रीले जानकारी दिए। उनका अनुसार विमानस्थल कार्यालय र एयरलाइन्सबीच आजै बैठक बसेर उडान पूर्ण सञ्चालनको तालिका बनाइनेछ ।
कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । आन्तरिक उडान पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय भएको छ । यसअघि कोभिड–१९ महामारीको जोखिम कायम रहेकाले कोभिड अघिको जम्मा उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो । अन्तरराष्ट्रियतर्फ सम्बन्धित मुलुकले उडान सहजीकरण गरेको खण्डमा आवश्यकताको आधारमा उडान तालिका थपघट गर्न सकिने प्राधिकरणले जनाएको छ । यसका लागि पर्यटन मन्त्रालयले सहजीकरण गर्नेछ । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।







डिसी नेपाल








Facebook Comment