अमेरिकाले जोखिममा रहेका अफगान दोभासेहरूको उद्धार गर्ने

डिसी नेपाल
३१ असार २०७८ ८:०८
128
Shares

बीबीसी। अमेरिकाले नेतृत्व गरेको सुरक्षा फौजलाई अनुवादमा सहयोग गरेका अफगान दोभासेहरूलाई उसले उद्धार गर्न लागेको छ। अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा आफ्ना सेना फिर्ता लिने समय सीमा तोकेसँगै ह्वाइट हाउसले पछिल्लो तयारी गरेको हो।

”यी बहादुर व्यक्तिहरू हुन्। उनीहरूले विगत धेरै वर्षहरूमा खेलेको भूमिकालाई हामी सम्मान गर्न र त्यसको महत्त्व बुझ्न चाहन्छौँ,” ह्वाइट हाउसकी एक जना प्रवक्ता जेन साकीले एउटा पत्रकार सम्मेलनमा भनिन्।

रोयटर्स समाचार संस्थासँग बोल्दै एक जना अधिकारीले सुरुवाती चरणमा झन्डै २,५०० जनालाई उद्धार गरिने र उनीहरूको भिसासम्बन्धी कामहरू भइरहँदा उनीहरूलाई अमेरिकामै वा अन्य कुनै राष्ट्रमा अमेरिकी सेनासँगै राखिने बताए।

हालैका साताहरूमा तालिबान विद्रोहीहरूले देशैभरि आफ्नो नियन्त्रणलाई फैलाएका छन्।उनीहरूले शृङ्खलाबद्ध रूपमा सीमा चौकीहरूलाई अफगान फौजबाट आफ्नो नियन्त्रणमा लिइरहेका छन्।

त्यसमा इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकामा रहेका चौकीहरू समेत रहेका छन्। २० वर्षअघि अमेरिकी अतिक्रमणका कारण अतिवादी इस्लामिक सशस्त्र समूह तालिबान सत्ताबाट बाहिरिन बाध्य भएको थियो।

तालिबानले अहिले कैयौँ मुख्य सडकहरूलाई पनि आफ्नो नियन्त्रणमा लिइसकेको छ। उनीहरूले प्रमुख सहरहरूमा आपूर्ति बन्द गराउन खोजिरहेका छन्।

सोभियत-अफगान युद्धलगत्तै भएको गृहयुद्धपछि सन् १९९६ मा कट्टरपन्थी इस्लामवादी तालिबान आन्दोलनले अफगानिस्तानको शक्ति हत्याउन सफल भएको थियो। पछि उनीहरूलाई अमेरिकी नेतृत्वको फौजले आक्रमण गरी विस्थापित गरिदियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *