घर मर्मतका क्रममा भित्ताभित्र भेटियो १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सुनको थुप्रो

डिसी नेपाल
३१ साउन २०८३ १४:०५

काठमाडौं । युरोपेली देश बेल्जियमको इस्ट फ्ल्यान्डर्समा एउटा घरको मर्मत सम्भारका क्रममा मजदुरहरूले भित्ताभित्र करिब ९० लाख युरो (लगभग १ अर्ब ५८ करोड नेपाली रुपैयाँ) बराबरको ठूलो सुनको खजाना फेला पारेका छन्। भित्ताभित्र भेटिएको खजानामा सुनका इँटा (बिस्कुट) र सिक्काहरू समावेश छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार मजदुरहरू यसै साता ढलको पाइप (सिवेज पाइप) बिछ्याउनका लागि ड्रिलिङ गरिरहेका थिए, सोही क्रममा उनीहरूले यो खजाना फेला पारेका हुन्।

खजाना भेटिएपछि अब यसको हकदार को हुने भन्ने प्रश्न उठ्न थालेको छ। यो खजाना पाउने दाबी मजदुरहरूसँगै सो जग्गाको स्वामित्व रहेको स्थानीय संस्थासँग पनि छ।

घटनाबारे अनुसन्धान सुरु गरेपछि प्रहरीले सर्वसाधारणलाई थप खजाना खोज्ने बहानामा त्यहाँ नजान चेतावनी दिएको छ। प्रहरीका अनुसार घरको पूर्ण रूपमा तलासी लिइसकिएको छ र सम्पूर्ण सुन सुरक्षित स्थानमा राखिएको छ।

मजदुरहरूले भवनको जग (फाउन्डेसन) मा काम गरिरहेका बेला सुनको यो खजाना फेला परेको हो। काम गर्नेहरूमा १८ वर्षका एक विद्यार्थी पनि थिए, जो गर्मीयामको छुट्टीमा केही अतिरिक्त कमाईका लागि त्यहाँ काम गरिरहेका थिए।

कोबे नामका ती विद्यार्थीले बेल्जियमको सरकारी प्रसारक ‘भीआरटी’ सँग कुरा गर्दै भने, “सुरुमा त हामीले यस कुरामा विश्वास नै गर्न सकेनौँ र निकै चकित भयौँ।”

उनले थपे, ‘पहिले मलाई यो युरोको सामान्य सिक्का होला भन्ने लाग्यो। तर पछि हामीले त्यहाँ सुनको एउटा इँटा (टुक्रा) पनि देख्यौँ। त्यसपछि मात्र हामीले यो कुनै सानोतिनो कुरा होइन भन्ने बुझ्यौँ।’

यसको केही समयपछि नै उनीहरूले प्रहरीलाई खबर गरे। यति ठूलो परिमाणको सुन आफूसँग लुकाएर राख्न असम्भव रहेको उनीहरूको भनाइ छ।

साइट म्यानेजर मारियोले भीआरटीलाई भने, ‘सुनका यति धेरै सिक्का र इँटाहरू छन् कि तिनलाई लुकाउनु लगभग असम्भव हुन्थ्यो। यसबाहेक, त्यसो गर्नु सरासर चोरी हुन्थ्यो।’

विद्यार्थी कोबेले पनि सहमति जनाउँदै भने, ‘९० लाख युरो, तपाईं यसलाई लुकाएर राख्न नै सक्नुहुन्न।’

जुन ठाउँमा सुन फेला पर्यो, त्यो जग्गा हाल ‘सीएडब्ल्यु ओस्ट-भ्लान्डरेन’ नामक संस्थाको स्वामित्वमा छ। यो संस्थाले डान्डरमोन्डे क्षेत्रमा मानिसहरूलाई सामाजिक तथा कल्याणकारी सहयोग उपलब्ध गराउँदै आएको छ।

संस्थाका निर्देशक गर्ट हिलर्टले आफ्नो पहिलो प्रतिक्रिया ‘आश्चर्य र अच्चमको’ रहेको बताए।

उनले यस खजानाको प्रयोग भविष्यमा संस्थाका कल्याणकारी कार्यहरूमा मद्दत पुर्‍याउन र ‘हरेक दिन सामने आउने ठूला आवश्यकताहरू’ पूरा गर्न सकिने आशा व्यक्त गरे।

स्थानीय प्रहरीले मानिसहरूलाई खजाना खोज्ने नाममा निर्माण भइरहेको सो ठाउँमा नजान अपिल गरेको छ। प्रहरीले आफ्नो आधिकारिक फेसबुक प्रोफाइलको फोटोसमेत बदलेर सुनको सिक्काको तस्बिर राखेको छ।

प्रहरीले यो खोजबाट प्राप्त सुन ‘सही ठाउँमा’ पुग्ने र मानिसहरूको जीवन बदल्न उपयोगी हुने आशा व्यक्त गरेको छ।

बेल्जियमको कानुनअनुसार वास्तविक धनीले यो खजानामाथि आफ्नो दाबी पेस गर्नका लागि ५ वर्ष (१,८२३ दिन) को समय पाउँछन्।

यद्यपि, यस मामिलामा अनुसन्धान गरिरहेका स्थानीय सरकारी वकिलका अनुसार हालसम्म यसको वास्तविक धनी को हो भन्ने पत्ता लाग्न सकेको छैन।

यदि यो अवधिमा कोही पनि दाबी गर्न आएन भने, नागरिक कानुन (सिविल ल) अनुसार अरू कसैको जग्गामा भेटिएको लुकेको खजाना सो खजाना फेला पार्ने (मजदुर) र सो जग्गाको धनीबिच आधा-आधा बाँडफाँड गरिनेछ।

तर, यो नियम त्यतिबेला मात्र लागू हुनेछ जबसम्म यो खजाना कुनै आपराधिक गतिविधिसँग जोडिएको छैन भन्ने पुष्टि हुन्छ।

अब निर्माण व्यवसायी (मजदुर) र परोपकारी संस्था दुवैले कुनै वास्तविक धनी अगाडि आउँछ कि भनेर १,८२३ दिनसम्म पर्खनुपर्नेछ। यदि यस अवधिमा कसैले आएर प्रमाणसहित आफ्नो दाबी पेस नगरेमा अघिल्लो कानुनी प्रक्रिया सुरु गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *