अपहरित छोरा खोज्न बाइकमा ५ लाख किमि यात्रा गरे, खतरनाक दुर्घटनामा परे, भिख मागे, २४ वर्षपछि भेटे

डिसी नेपाल
३१ असार २०७८ १२:२८
6.6k
Shares

काठमाडौं। चीनको शेडोंग प्रान्तमा २४ वर्ष पहिले अपहरण गरिएका एक छोरासँग उनका मातापिताको मिलन निकै भावुक देखियो । जब बालकलाई अपहरण गरिएको थियो त्यतिबेला उनको उमेर केवल २ वर्ष थियो । पुलिसको सहयोगमा उनलाई खोजियो । अहिले उनी २६ वर्षका जवान भइरहेका छन् । मातापिताले उनलाई दौडिएर गएर अंकमाल गरे र रुन थाले । यो देखेर त्यहाँ उपस्थित अन्य मानिसहरुका पनि आँखा रसाए।

ग्लोबल टाइम्सको एक रिपोर्टअनुसार पिता गुओ गंगतांगको लागि यो पल अत्यन्तै खुसीको थियो किनकि उनको तपस्या पूरा भइसकेको थियो । उनले २० राज्यमा छोरालाई खोजे । जहाँ पनि आफ्नो छोरा भेटिन सक्ने सम्भावना हुन्थ्यो उनी मोटरसाइबल लिएर पुग्थे । यसरी उनले करिब ५ लाख किलोमिटर मोटरसाइकलमा यात्रा गरे । यस क्रममा १० वटा मोटरसाइकल बिग्रिए । एकपटक उनी निकै खतरनाक दुर्घटनामा परे जसमा उनका कैयौं हड्डी भाँचिए । एक पटक त लुटेराहरुले उनीमाथि गोली पनि चलाए तर भाग्यवश उनी बचे ।

पिता गुओ मोटरसाइकलमा छोराको तस्वीरको ब्यानर लगाएर हिँड्थे । उनले छोराको खोजीमा आफ्नो पूरै सम्पत्ति गुमाए । उनले भिख पनि मागे । कैयौं पटक पुलमुनि सुत्नुपर्यो तर उनले हार मानेनन् । पछि उनी चीनमा बेपत्ता मानिसहरुको पक्षमा काम गर्ने संगठनका प्रमुख सदस्य बने । उनले सात अन्य अभिभावकलाई पनि उनीहरुका सन्तानसँग भेटाउन सहयोग गरे ।

छोराको खोजीका लागि गुओले गरेको संघर्ष चीनमा यतिसम्म चर्चित थियो कि उनको विषयमा फिल्म नै बनेको थियो । २०१५ मा उनको जीवनकथामा आधारित रहेर फिल्म ‘लस्ट एण्ड लभ’ बनाइएको थियो । यसमा हङकङका सुपरस्टार एण्डी लाउले काम गरेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार अहिले गुओले आफ्नो छोरा भेटेको खबर पाएपछि फिल्मका मुख्य कलाकार लाउले गुओलाई बधाइ दिएका छन् ।

चीनमा अपहरण गरिएका वा बिछोडिएका मानिसहरुको खोजीको लागि पुलिसले यस वर्ष ठूलो संख्यामा एक अभियान चलाएको छ । यसमा परिवारको पत्ता लगाउनको लागि डिएनए परीक्षणको सहयोग लिइएको छ । गुओका छोरा पनि डिएनए परीक्षणबाटै भेटिएका हुन् । गुओका छोराको अपहरण गरेको अभियोगमा १ महिला र १ पुरुषलाई गिरफ्तार गरिएको छ । उनीहरुले बच्चालाई हेनान प्रान्तमा बेचिदिएका थिए ।

चीनमा बालबालिकाको तस्करी ठूलो समस्या हो । २०१५ मा गरिएको एक अनुमानअनुसार यहाँ हरेक वर्ष २० हजार बच्चाहरुको अपहरण हुन्छ । उनीहरुलाई देशबाहिर पनि बेचिन्छ । पुलिसले अपराध रिपोर्ट गर्नको लागि ल्याएको एक एपमा चोरी, ड्रग डिलिङ, हत्याको साथमा बाल तस्करी वर्ग पनि समावेश गरेको थियो । बाल तस्करीका घटनामा पीडितका आफन्त नै सहभागी भएको पनि खुलासा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *