‘भगवानले पठाएको’ बताउने ६३ वर्षका डाक्टरले यसरी गराएका थिए हैटीका राष्ट्रपतिको हत्या

डिसी नेपाल
३१ असार २०७८ १३:४१
10.2k
Shares

काठमाडौं। हैटीका राष्ट्रपति जोभेनेल मोइसको ४८ वर्षको उमेरमा ७ जुलाइमा हत्या गरियो । हत्या त्यतिबेला भएको थियो जतिबेला राष्ट्रपति मोइस आफ्नी पत्नी मार्टिनी मोइसको साथमा पोर्ट ओ प्रिन्सस्थित आवासमा थिए । आक्रमणको क्रममा दोहोरो मुठभेड पनि भयो र पुलिसले ४ जना संदिग्धलाई मार्यो ।

हत्यामा संलग्न भएको आरोपमा अहिलेसम्म २६ जना पक्राउ परेका छन् । अनुसन्धानकर्ताहरुले भने पक्राउ परेकामध्ये ६२ वर्षका हैटिअन अमेरिकन डाक्टर क्रिस्चियन इम्मानुएल सेननमाथि ध्यान केन्द्रित गरेका छन् । उनलाई हैटी पुलिसले सोमबार गिरफ्तार गरेको छ ।

अमेरिकाको फ्लोरिडामा बस्ने डा. इम्मानुएल अमेरिकन हैटियन नागरिक हुन् । २०११ मा उनले एक युट्युब भिडियो पोस्ट गरेका थिए । यही भिडियोबाट उनीबारे धेरै कुरा थाहा भएको छ । यो भिडियोमा उनले आफूलाई डाक्टर भनेका छन् । द गार्डियनका अनुसार इम्मानुएल जूनमा निजी विमानबाट हैटी गएका थिए ।

त्यहाँबाट उनले राष्ट्रपति मोइसको हत्या गर्ने मुख्य योजनाकार र हत्या गर्न घटनास्थलमा जाने हिटम्यानको बीचमा बिचौलियाको भूमिका निभाएका थिए । पुलिसका अनुसार त्यहाँ हुँदा इम्मानुएलले एक निजी सुरक्षा फर्मसँग पनि कुराकानी गरेका थिए । यसको उद्देश्य यो मिशनमा पठाउने मानिसहरुलाई रिक्रुट गर्नु थियो ।

मोइसको हत्याको कारण अझैसम्म स्पष्ट भएको छैन । तर, हैटीमा ठूलो राजनीतिक परिवर्तनका लागि यो हत्या गरिएको अनुमान गरिएको छ । इम्मानुएलको हकमा गएको जूनमा पोर्ट ओ प्रिन्सको क्युस्कुएया युनिभर्सिटीका प्रोफेसर माइकल प्लेन्सरले न्यूयोर्क टाइम्सलाई दिएको अन्तरवार्ताले उनको योजना र चाहनाबारे धेरै कुरा खुलासा हुन्छ ।

प्लेन्सरले न्यूयोर्क टाइम्सलाई बताएअनुसार इम्मानुएलसँग उनको २ पटक भेट भएको थियो । पहिलो भेट १ जूनमा भएको थियो र त्यसको केही दिनपछि अर्को भेट भएको थियो । यस क्रममा करिब ८ जना थिए । कुराकानीका क्रममा थाहा भयो कि इम्मानुएल हैटीको शासन चलाउने कुरा गर्थे ।

प्रोफेसर प्लेन्सरले भने ‘इम्मानुएल भन्थे कि उनलाई भगवानले पठाएका हुन् । उनले भनेका थिए कि उनी गडको मिशनमा छन् र यो मिशन मोइसलाई हटाउनु हो । भन्थे कि राष्ट्रपतिले छिटै राजीनामा दिन्छन् तर कारण बताएका थिएनन् । उनले भनेका थिए कि उनी हैटीलाई चलाउनको लागि एक मार्शल प्लान तयार गर्नेछन् । उनी अलिअलि पागलजस्ता देखिन्थे । उनी हैटीको फ्रेन्च भाषालाई बदलेर आधिकारिक भाषा अंग्रेजी बनाउने कुरा गर्थे ।’ अहिले हैटीको आधिकारिक भाषा हैटियन क्रोओले र फ्रेन्च हो ।

हत्याको कारणबारे कुरा गर्दा हैटी पुलिसले अहिलेसम्म इम्मनुएल नै हैटीको राष्ट्रपति बन्न चाहन्थे त्यसैले मोइसको हत्या गरेको भन्दै आएको छ । इम्मनुएलको घरबाट अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनको क्याप भेटिएको छ । हत्याराहरुले आफूहरुलाई यही विभागको सदस्य देखाउन खोजेका थिए । गोलीका २० बाकस, ४ लाइसेन्स प्लेटका साथै अन्य कुराहरु पनि भेटिएका छन् । पुलिसले हत्यामा इम्मानुएलको भूमिका निकै महत्वपूर्ण भएको मानेको छ तर मुख्य योजनाकार उनी नै हुन् वा अरु नै हुन् भन्ने कुरामा भने स्पष्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *