१० दिनदेखि लगातार बाडुकी लागिरहेपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

डिसी नेपाल
३१ असार २०७८ १६:४५
704
Shares

काठमाडौं। ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोलाई लगातार १० दिनदेखि बाडुकी लागिरहेपछि ‘इन्टेस्टिनल अब्स्ट्रक्सन’को (आन्द्राजन्य अवरोध) लागि अस्पताल भर्ना गरिएको छ । ६६ वर्षका बोल्सेनारोलाई राजधानी ब्रासिलियाको सशस्त्र बल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको प्रारम्भिक वक्तव्यलाई उद्धृत गर्दै डेलीमेलले जनाएअनुसार राष्ट्रपतिले सुधार महसुस गरिरहेका छन् चिकित्सकहरुले उनको स्थायी बाडुकीको कारणबारे परीक्षण गरिरहेका छन् । डाक्टरहरुले अहिले नै शल्यक्रिया नगरिने बताएका छन् ।

यसअघि २०१८ मा चुनावी कार्यक्रमका क्रममा राष्ट्रपति बोल्सेनारोमाथि पेटमा छुरा प्रहार भएको थियो । बोल्सेनारोको कार्यालयले जनाएअनुसार ३ वर्षअघि चक्कु प्रहारपछि उनको शल्यक्रिया गरेका चिकित्सकले उनलाई साओ पाउलो लैजाने निर्णय गरेका छन् जहाँ उनको थप परीक्षण गरिनेछ । ३ वर्षअघि भएको चक्कु आक्रमणमा उनको आन्द्रामा क्षति पुगेको थियो र गम्भीर आन्तरिक रक्तस्राव भएको थियो । त्यसयता राष्ट्रपतिको पटक–पटक शल्यक्रिया भएको छ । केही शल्यक्रिया भने यो आक्रमणको चोटसँग सम्बन्धित थिएनन् ।

बुधबार रातीहस्पिटल नोभा स्टारले एक वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई ‘कन्जरभेटिभ क्लिनिकल ट्रिटमेन्ट’ दिइने भनेको थियो जसको अर्थ तत्कालको लागि राष्ट्रपतिको कुनै शल्यक्रिया नगरिने भन्ने हुन्छ । राष्ट्रपति बोल्सेनारो स्वयंले आफू अस्पतालको बेडमा भएको एक तस्वीर सामाजिक संजालमा पोस्ट गरेका छन् । फोटोमा उनका आँखा बन्द देखिन्छन् र शरीरमा थुप्रै मनिटरिङ सेन्सर लगाइएका देखिन्छन् ।

पछिल्ला केही दिन राष्ट्रपति सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा आफ्नो बाडुकीसँग संघर्ष गरिरहेका देखिएका छन् । ‘म सबैसँग माफी माग्छु जसले मलाई सुनिरहनुभएको छ किनकि मलाई ५ दिनदेखि लगातार बाडुकी लागिरहेको छ’ जुलाइ ७ मा रेडियो गुआइबामा राष्ट्रपतिले भनेका थिए । उनले त्यतिबेला आफ्नो दाँतको सर्जरीपछि आफूले प्रयोग गरिरहेको औषधिले यस्तो भएको हुन सक्ने बताएका थिए । ‘मलाई चौबीसै घण्टा बाडुकी लाग्छ’ उनले भनेका थिए ।

भोलिपल्ट साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा पनि उनले एक हप्ता लामो बाडुकीका कारण आफ्नो कुरा प्रस्टसँग राख्न नसकेको भन्दै माफी मागेका थिए । ‘लगातारको बाडुकी लाग्नु आन्द्रामा अवरोध वा यस्तै समस्याको संकेत हो’ ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. एन्थोनी लेम्बोले भने । केही अवस्थामा इन्टेस्टाइनको केही भाग हटाउनुपर्ने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *