गत वर्ष करिब साढे ६१ हजार युवा वैदेशिक रोजगारीका लागि विदेशिए

रिता बस्नेत
८ साउन २०७८ १२:२५

काठमाडौं। गत आर्थिक वर्ष नेपालबाट करिब ६१ हजार युवा वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक गएका छन्। श्रम, रोजगार र तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६१ हजार ४ सय २८ जना रहेका छन्।

पछिल्लो २७ वर्ष अर्थात् आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्मको अवधिमा श्रम स्वीकृति लिएर कूल ५५ लाख ६४ हजार ७९ जना रोजगारीको लागि विदेशिएका छन्। आर्थिक वर्ष २०५०/५१ मा श्रम स्वीकृति लिएर ३ हजार ६०५ जना मात्र वैदेशिक रोजगारीमा गएका थिए। यसको १० वर्षपछि अर्थात् आर्थिक वर्ष २०६०/६१ मा नेपालबाट एक लाख ६ हजार ६६० जना श्रम स्वीकृति लिएर विदेशिएको देखिन्छ।

साथै, अर्को एक दशकमा अर्थात २०७०/७१ मा वैदेशिक रोजगारीमा जाने संख्या अत्यधिक थियो । नेपालबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएको वर्ष २०७०/७१ थियो। त्यसबेला श्रम स्वीकृति लिएर ५ लाख १९ हजार ६ सय ३८ जना नेपाली विदेशिएका थिए। आर्थिक वर्ष २०७०/७१ पछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या क्रमशः घट्दै गएको देखिन्छ।

कोरानाका कारण पछिल्ला दुई आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या अझ घटेको छ। २०६० सालबाट निरन्तर जानेको संख्या बढ्दै गएकोमा आव २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको संख्यामा शत प्रतिशत गिरावट आएको छ।

त्यसैगरी, मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर विदेशिने नेपाली कामदारको संख्या २ लाख ३६ हजार २०८ रहेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या १ लाख ९० हजार ४ सय ५३ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *