एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

डिसी नेपाल
१२ साउन २०७८ ७:१०
548
Shares

काठमाडाैं। नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो।

नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ।

बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए। ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो। मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भीम आचार्यले भने।

उनका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ। ओली पक्षबाट भ्रातृ संगठनका नाममा भइरहेका अराजक गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ। युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्न बैठकले आग्रह गरेको हो।

पार्टीभित्र देखिएका विवाद निरूपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी अध्यक्ष ओलीका तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने निर्णय बैठकले गरेको छ।

‘पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासलाई छिटो टुंगोमा पु¥याउन थप प्रयास थाल्ने कुरा भएका छन्। सबै साथीको जोड एकतामै छ। त्यसकारण दुवै नेतालाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरिएको छ,’ बैठकपछि नेता रघुजी पन्तले भने।

‘पार्टी एकताको विकल्प छैन भन्ने हो भने दुवै नेताले अभिव्यक्तिमा लगाम लगाउनुपर्छ। कार्यकर्ता भड्काउने गरी अभिव्यक्ति दिनुहुँदैन,’ स्थायी कमिटी सदस्य आचार्यले भने।  नागरिक दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *