दार्चुला प्रकरणः तुइन नकाटेको भारतीय पक्षको दावी
काठमाडौं। दार्चुलाको ब्यास गाउँपालिकका ३५ वर्षीय जयसिंह धामी महाकाली दनीमा तुइन चढेर पार गर्नेक्रममा भएको घटनाबारे भारतीय पक्षले नेपाली पक्षलाई पत्र लेखेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धामी तुइनबाट पार गर्दैगर्दा डोरी काटिदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएको स्थानीयको भनाइ आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार भारतको पिथौरागढका डिस्ट्रिक म्याजिस्टेट (डीएम)लाई पत्र लेखेर घटनाबारे जानकारी मागेको थियो।
पिथौरागढका डीएमले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सोबारे जानकारी दिएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी जोयत्सना भट्ट जोशीले डिसी नेपाललाई जानकारी दिएकी छन्।
उनका अनुसार भारतीय पक्षले सो घटना एसएसबीले नगरेको दावी गरेको छ। पत्रमा ‘तुइन नजिकै पेट्रोलिङ गरिरहेको सुरक्षाकर्मीको समूहले हल्लाखल्ला सुनेपछि त्यहाँ गएको र त्यसबेला एकजना मानिस खसेको जानकारी पाएपछि उद्धारको प्रयाससमेत गरिएको’ दावी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टले बताइन्। उनका अनुसार भारतीय पक्षले यो घटनामा एसएसबीको कुनै भूमिका नरहेको बताएको छ।
सो तुइन अवैध रहेको भने भारत र नेपाल दुबैले स्वीकार गरेका छन्। सो तुइनको प्रयोग लुकिछिपी हुने गरेको थियो। शुक्रबार बेपत्ता भएका धामीको अवस्था शनिबार अबेरसम्म अज्ञात छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment