‘छम्किदेउ पानी’ का गायक गायिका भन्छन्, ‘हामी भाग्मानी हौं’

तर्कबहादुर थापा
१४ भदौ २०७८ ८:१०
932
Shares

काठमाडौं। नेपाली हिन्दु नारीहरुको महान चाड तीज आउन अब केही दिनमात्र बाँकी छ। सामान्यतः कृष्ण जन्माअष्ठमीदेखि मनाइने तीज पछिल्ला केही वर्षहरुमा झण्डै एक महिना अघिदेखि नै चहलपहल हुन थाल्छ।

कृष्ण जन्माअष्ठमीको १० दिनपछि पर्ने हरितालिका तीजमा विषेशगरी दिदीबहिनीहरुले आफ्नो मनको व्यथालाई गीतमार्फत व्यक्त गर्ने चलन छ। यो चलन भए पनि नेपाली संगित बजारमा दाजुभाइले पनि थुप्रै तीजको गीत गाउने गरेका छन्।

वर्षेनी सयौंको संख्यामा आउने उक्त तीजका गीतहरुमा एकआध गीतहरुले दर्शकमाझ राम्रो चर्चा बटुल्ने गर्छन्। समय र प्रविधिको प्रयोगसँगै नेपालमा पनि गीतका क्यासेट र सीडीहरु लोप भइसकेका छन्। अहिले डिजिटल प्लेटफर्म यूट्युवमा पाएको चर्चा नै कलाकारको परिचय हुन पुगेको छ।

यो वर्षको तीजका लागि गाइएका थुप्रै गीतहरुमध्ये थोरैलेमात्र चर्चा पाएका छन्। थोरै चर्चामा रहेका गीतहरुमध्ये एउटा ‘छम्किदेउ पानी’ रहेको छ। तिलक वलीको शब्द संगितमा रहेको उक्त गीतमा सुकदेव अधिकारी र सुनिता ठकुरीले स्वर दिएका छन्।

कोरोनाले मनोरञ्जनका क्षेत्रमा काम गर्ने चलचित्र क्षेत्र धरासायी भयो। करिव २ वर्षदेखि उठ्नै नसक्ने गरी यो क्षेत्र थलिएका बेला लोकगीत भने चलिरहेको छ। अझ भनौ चलचित्रमा अभिनय गर्ने धेरै कलाकारले लोकगीतमा अभिनय गरिरहेका छन्।

लोक गीतलाई नटेर्ने चलचित्र क्षेत्र, लोकगीत बाहेकका गीत संगितको क्षेत्रमा लाग्नेहरुलाई पनि लोक गीतले निवन निर्वाह गरिरहेको देख्दा आफूलाई खुसी लागेको उनीहरु बताउँछन्।

 

यसअघि पनि करोड क्लवमा छन् सुकदेव 

सुर्खेती कलाकार सुकदेव अधिकारी झण्डै चार वर्षदेखि नेपाली लोकदोहोरी क्षेत्रमा छन्। विज्ञान विषयको पढाइ गरेका सुकदेव संगत समय र परिस्थितिले आफूलाई गीतसंगितमा लगाएको बताउँछन्।

छम्किदेउ पानीले डिजिटल बजारमा आधा करोड नजिक पुग्दै गर्दा डिसी नेपालसँगको कुराकानीमा सुकदेवले अहिले संगीतको मोहले नछोड्ने गरेको बताए।

उनले भने, ‘विज्ञान पढेर नामको अगाडि डा. जोड्न म काठमाडौं छिरेको हुँ। घरको स्थिति र मेरो साथीहरुको सर्कललगायतका परिस्थितिले मलाई गीत संगीततर्फ धकेल्यो। अहिले यो फिल्डमा रमाएकै छु। धेरै राम्रो भइरहेका छ।’

यसअघि पनि सुकदेवले गाएको ‘कल्ले बोलायो’ करोड क्लवमा पुगेको छ। थुप्रै गीत गाएका सुकदेव कल्ले बोलायो गीत करोड क्लवमा पुग्न भन्ने सोचमै थिएनन्। आफूले सिर्जनामाथि न्याय गर्न सकिन कि भन्ने शंका पालेर हरेकपल मेहेनत गरिरहने सुकदेव गीत करोड कल्वमा गएपछि खुसिसँगै अच्चम लागेको बताउँछन्।

‘मैले नै न्याय दिन सकेन झै लाग्छ,’ उनले सुनाए, ‘म भौतिकवादी मान्छे। विज्ञानको विद्यार्थी। विज्ञानलाई आत्मसाथ गरेर अघिबढिरहेका बेला अहिले त भाग्यमा विश्वास गर्न थालेको छु। अपेक्षा नगरेको कुरा आफ्नो आखाँ अगाडि आउनुलाई नै भाग्य भनिँदो रहेछ।’

सुकदेवले आवाज दिएको ‘के भनौं हजुर’ पनि आधा करोड बढीले हेरेको गीत हो। यस्तै उनका वृद्धाश्रम, कर्णाली घुम्नेठाउँ, ठूलोभो शिरफूल, विश्वासघाति, सिस्ने हिमाल लगाएतका थुप्रै गीत बजारमा छन्।

दोस्रो गीतले नै चर्चा पाएपछि मख्ख सुनीता

रुकुमकी कलाकार सुनिता ठकुरी अहिले मख्ख परेकी देखिन्छिन्। आफूले आवाज दिएको दोस्रो गीतले नै राम्रो बजार र दर्शक स्रोता पाएपछि मख्ख नपरुन पनि किन। वर्षौ संघर्ष गरेर गीतसंगीतमा लागेका उनीजस्तै धेरै श्रष्ठाहरु अहिले पनि भाग्यको ढोका खुल्ने प्रर्खाइमा छन्।

सानैदेखि गीतसंगितमा रुचि भएकी सुनितालाई घरपरिवारले गायिका बन्ने सपनामा सहयोग गरेन्। उनी घरपरिवारसँगको विद्रोहपछि काठमाडौं छिरिन्। सुखदुःख गरेर काठमडौंको केही वर्षको वसाईले उनलाई आफ्नै गाउँघर तिरको सिंगारु भाकामा रुचि जाग्यो। जय देवकोटासँगको सहकार्यमा सिंगारु गीत बजारमा ल्याइन्।

 

सिंगारु टिभीमा बज्न थालेपछि र सुनितालाई टिभीमा देख्न थालेपछि समाजको नजरमा परिवर्तन आयो। उनी गाउँ फर्किपछि पाएको माया र आर्शिवादले ‘छम्किदेउ पानी’ले माया पाएको अनुभव सुनाउँछिन्।

‘अहिले पनि समाजले छोरी मान्छेले स्वतन्त्र रुपमा आफ्नो कर्म गरेको स्वीकार गर्न सकेको छैन,’ सुनिता सुनाउँदै थिइन्, ‘मैले पनि नसानसामा बगेको गीत संगितमा लगाउनका लागि विद्रोह नै गर्नु परेको थियो। जब एउटा गीत बजारमा आयो, टिभिमा बज्न थाल्यो त्यसपछिमात्र समाजको बाहिरी नजरमा परिवर्तन आएको छ।’

उनी आफूले स्वर दिएको दोस्रो गीतले दर्शक स्रोता धेरै बुटुलेकोमा भाग्यमानी नै सम्झिन्छिन्। उनले भनिन्, ‘म त भाग्यमा भरोसा गर्ने मान्छे हुँ। कतिधेरै दाजुदिदीहरु अहिले पनि संघर्षको मैदानमै हुनुहुन्छ। लामो साधना छ । शिक्षा छ। तर, भाग्यमा नभएरै होला अझै बाहिर चिनिनु भएको छैन। मैले आवाज दिएको दोस्रो गीतले नै चिनायो भाग्य भएरै हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *