कुशेऔंसी तथा बाबुको मुख हेर्ने दिनको महिमा

डिसी नेपाल
२२ भदौ २०७८ ६:५२
156
Shares

वैदिक हिन्दु परम्परा अनुसार भाद्रमास कृष्णपक्ष अमावश्य अर्थात् औंसी तिथिमा मनाइने चाडको नाम हो कुशे औंसी यसलाई बाबुको मुख हेर्ने दिन अनि गोकर्ण औंसीको रूपमा पनि चिन्न सकिन्छ।

हाम्रो हिन्दु दर्शनले यस धर्तीमा रहेका अनेकौं प्राणीहरू, अनेकौं वनस्पतिहरू र अनेकौं पशुपक्षिहरूलाई समेत देवताका रूपमा मानिआएको पाइन्छ। त्यसैले हिन्दुधर्म वा हिन्दुदर्शनलाई प्रकृतिप्रेमी दर्शन वा प्रकृति प्रेमी धर्म भनेर पनि हामी चर्चा गर्न सक्छौं।  यस कारण भाद्रकृष्ण औंसी पनि यी विविध पक्षसँग जोडिएको विशेष पर्व हो।

यस पर्वलाई पितृसम्मान र पारिवारिक मिलनको पर्व र सम्पूर्ण धार्मिक कृत्यहरूका लागि कुशलाई भण्डारन गर्ने र यस दिन काटिएको संग्रह गरिएको कुशले एक वर्षसम्म काम गर्ने हुनाले कुशको भण्डारनका लागि पनि यो दिन अति उपयुक्त छ कुश उखेल्न जो सिपालु छ त्यो नै कुशल हो। त्यसै दिन प्रातःकालमा स्नान गरी पूर्व वा उत्तर मुख गरी ‘हुँ फट् ’मन्त्र उच्चारण गरी निम्न श्लोक पाठ गरी कुश उखेल्नु पर्दछ।

वीरञ्चिना सहोत्पन्नः परमेष्ठीनिसर्गतः ।
नुद सर्वाणि पापानि दर्भस्वस्तिकरो भव ।।

ब्रह्माजीसँग सँगै उत्पन्न भएको हे कुश देवता हाम्रो सम्पूर्ण पाप नाशेर कल्याण प्रदान गराउनुहोस्।

हाम्रा नित्य ,नैमित्तिक र काम्य कर्म सबै प्रकारका कर्महरूमा कुशको प्रयोग हुन्छ। कुश शब्दलाई यसरी पनि बताइएको छ। ‘कु’ को अर्थ पाप र ‘श’ को अर्थ शमन वा नाश हुनु यस कारण पापलाई शमन गर्ने शक्ति भएकाले यस वनस्पतिलाई कुश भनिएको हो। हाम्रा धर्मशास्त्रहरूमा कुशलाई यसरी बताइएको पाइन्छ ः कुशमूले स्थितो ब्रह्मा कुशमध्ये जनार्दनः।

कुशाग्रे शंकरोदेवास्त्रयो देवाः कुशे स्थिताः।।

कुशको मूलमा ब्रह्मा, माझमा विष्णु, टुप्पामा शंकरजी हुनुहुन्छ भनिएको छ। यसर्थ कुशको विशेष महत्त्व रहेको पाइन्छ। स्नान गर्दा, दान गर्दा, जप गर्दा, होम गर्दा, स्वाध्याय गर्दा, पूजापाठ गर्दा, विभिन्न प्रकारका पितृकार्य, देवकार्य आदिका लागि कुश अति नै आवश्यक र अनिवार्य वस्तु हो।

कुशलाई सात्विक वनस्पतिको रूपमा पनि लिइएको हुनाले यसलाई तत्काल फल दिने आषधिको रूपमा प्रयोग गरिएको पाइन्छ। आयु वृद्धिका लागि पनि कुशको प्रयोग गरिन्छ। दाह, रक्तपित्त, मृगौलाको पत्थरी आदि रोगको उपचारमा पनि कुशको प्रगोग हुन्छ। जुन मानिसको कुशासनमा प्राण जान्छ उसको सन्तान छैन भने पनि निःसन्देह वैकुण्ठ जान्छ भन्ने वचन शास्त्रहरूमा पाइन्छ।

कुशको आशन प्रयोग गर्नु वैज्ञानिक र धार्मिक दुबै रूपले अति उपयोगी र अति महत्त्वपूर्ण पनि छ। साधकले प्राप्त गर्ने उर्जालाई नाश हुन नदिनका लागि कुश सहयोगीका रूपमा सिद्ध हुन जान्छ।

यो कुरा स्वयं गीताले पनि ‘चैलाजिनकुशोत्तरम् ’भन्ने उल्लेख भएबाट कुशासनले गर्दा हाम्रो शरीरमा प्राप्त उर्जालाई पृथ्वीमा जानलाई रोक्ने अर्को साधन पनि कुश हो। देवीदेवताको पूजा गर्दा, यज्ञयज्ञादि कर्म गर्दा ,हवनादि कर्म गर्दा जतिपनि कलश स्थापना गरिन्छ।

ती कलशहरूमा कुश राख्ने गरिन्छ, किनभने यसमा वैज्ञानिक कारण कलशमा कुश राखेपछि कलशमा रहेको जल अपवित्र र अशुद्ध नहोस्, लामो समयसम्म प्रयोगका रूपमा रहेको जल जीवाणु रहित बनोस् भनेर कुशलाई कलशको जलमा राख्ने गरिन्छ। कुशको प्रयोगबाट लक्ष्मी प्राप्ति हुने, यश वृद्धि हुने, तेज वृद्धि हुने साधकमा एकाग्रता हुने हुनाले कुश अनिवार्य रूपमा प्रयोग गर्नुपर्दछ।

पौराणिक मान्यता अनुसार कुश उत्पत्तिको विषयमा पृथ्वी उद्धारका लागि एवं हिरण्याक्ष वधका लागि भगवान विष्णुले वराह अवतार धारण गरेर पृथ्वीमा आउनु भयो। वराह अवतार भगवानका शरीरबाट गिरेका वा खसेका रौँ नै कुश रूपमा उत्पत्ति भयो भनेर बताएको पाइन्छ।

गरुडकी आमा विनतालाई दासत्वबाट मुक्त गराउनका लागि गरुडले स्वर्गबाट इन्द्रलाई परास्त गरी ल्याएको अमृतको कलशलाई कुश माथि राखेको आदि क्रियाकलापसँग पनि कुशको कथा सम्बन्धित छ।

त्यस्तै गरी भागवतमा भगवान बलरामचन्द्रजीले कुशको त्यान्द्रो नै मन्त्रबलद्वारा ब्रहस्त्रमा बदलिएर सुतजीको शिर छेदन भएको र पापी वेनलाई मार्न पनि ऋषिमुनिहरूले कुशको नै प्रयोग गरेको पाइएकाले पनि कुशको महिमा ठूलो छ भन्ने बुझिन्छ। यसैगरी कुनै मानिसको विदेश वा अन्त कतै मरेर लाश भेटिएन भने कुशको मुठालाई मुर्दाको रूपमा सम्झी दाहासंस्कार गरी काज क्रिया गरी पितृ उद्धार भएको मानिन्छ। यसर्थ कुशको महिमा अपरम्पार छ।

यस दिनलाई बाबुको मुख हेर्ने दिनको रूपमा पनि चिन्न सकिन्छ। हाम्रो धर्मदर्शनले वा हाम्रो संस्कृतिले ‘पितृदेवो भवः’ भनि अत्यन्तै स्तुत्य गान गाउँदछ। पिता भनेका देवता हुन्। पिता शब्दको अर्थ हुन्छ पा रक्षणे धातुबाट पिता शब्द बन्दछ। यः पातिः सः पिता जसले रक्षा गर्नुहुन्छ उहाँको नाम नै पिता हो। जसले पालन गर्नुहुन्छ ,जसले पोषण गर्नुहुन्छ , रक्षण गर्नुहुन्छ उहाँको नाम नै हो। शास्त्रमा बताइएको छ ः यं

मातापितरौ क्लेशं सहेते सम्भवे नृणाम्।
न तस्य निस्कृतिः शक्या कर्तुं वर्षशतैरपि ।।

पितामातालाई बालकलाई जन्माउन हुर्काउन जति दुःख सहन पर्छ त्यसको ऋण चुक्ता गर्नकालागि बालकले सयौँ वर्ष मातापिताको सेवा गरे पनि तिर्न सक्दैन। यस कुरालाई बुझेर मातापितालाई आदर, प्रेम, सम्मान गर्दै रहनु सन्ततिको कर्तव्य हो। पिताको मुख हेर्ने दिनमा आफ्ना पितालाई मीठा मीठा खानेकुरा खुवाउने, राम्र–राम्रा कपडाहरू, पितालाई मन पर्ने सामग्रीहरू उपहार दिएर पितासँग आशीर्वाद लिने दिनका रूपमा मान्दै आइरहेको पाइन्छ। यदि पिताको देहावसान भइसकेको छ भने यसै दिनमा गोकर्णमा गएर पितालाई श्रद्धापूर्वक स्मरण गरेर पिण्डदान , जलदान आदि कार्यहरू गरेर पिताको सम्मान गर्ने धार्मिक मान्यता रहिआएको छ । यस पर्वमा छोरा छोरी चेलीवेटी जम्माभई रमाउँदै उत्सव मनाएर खुसीयाली मनाउने पर्वको रूपमा पनि लिन सकिन्छ । हाम्रा धर्मशास्त्रहरूले पितालाई यसरी बताएको पाइन्छः

जनिता चोपनेता च यस्तु विद्यां प्रयच्छति।
अन्नदाता भयत्राता पञ्चैते पितरस्मृता ।।

जन्म दिने,यज्ञोपवीत संस्कार गराइदिने, विद्या प्रदान गर्ने, अन्न दिने, भय हटाइदिने समेत यी पाँच क्रिया गरिदिनेलाई पिता भनिएको छ। यसरी नै पद्यपुराणमा पनि :

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।
पितरे प्रीतिमापन्ने प्रियन्ते सर्वदेवता ।।

यसर्थ पिता नै धर्म, स्वर्ग, तप र सबै देवता नै पिताको रूप भएकाले जसरी हुन्छ आफ्ना माता पिता खुसी हुनुहुन्छ भने सबै देवता खुसी हुन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.