जुँगाको लडाईँले देश अप्ठेरोमा पर्‍यो : पूर्व अर्थसचिव बास्कोटा (भिडियाेसहित)

तर्कबहादुर थापा
३१ भदौ २०७८ ७:४७

काठमाडौं । पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाले दलहरुको जुँगाको लडाईँका कारण देश अन्यौलमा परेको बताएका छन्। ‘बजेट होली डे’का बारेमा डिसी नेपालसँग कुरा गर्दै बास्कोटाले सत्तापक्ष र प्रतिपक्ष दुबैले जिम्मेवारीबोध नगर्दा अहिलेको अवस्था आएको बताए।

‘पहिलाको सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित नभएपछि बुधरबार राति १२ बजेदेखि सरकार बेखर्ची भएको छ।’ बास्कोटाले भने, ‘सरकारसँग पैसा नभएर होइन्। पैसा भएर पनि खर्च गर्ने कानूनी अधिकार गुमाएका कारण सरकार बेखर्ची भएको हो।’

२००८ मा नेपालमा पहिलोपटक बजेट भाषण भएको थियो। ७० वर्षको अवधिमा पहिलो पटक नेपालले ‘बजेट होली डे’ बेहोर्नु परेको बास्कोटाको सम्झना छ। उनले भने, ‘२०६४÷६५मा पनि बजेट आउने अवस्था भएन। तत्कालीन अन्तरिम संविधान संशोधन गरेर बजेट ल्याइएको थियो। यस्तै २०६७ को बजेटका बेला पनि तत्कालील अर्थ मन्त्री सुरेन्द्र पाण्डेले बजेट प्रस्तुत गर्न लाग्दा ब्रिफकेस फुटाइएपछि राति १२ बजे संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याइएको थियो। अहिले त त्यो अवस्था पनि रहेन। सरकारले बेलैमा विकल्पको खोजी नगर्दा यो अवस्था सिर्जना भएको हो।’

अब अर्थ मन्त्रालयले चेक काटन पाउने छैन। संवैधानिक निकायका प्रमुख, उपप्रमुख, कर्मचारी, देशको ऋणको ब्याज बुझाउने बाहेकका काम हुँदैनन्। कर्मचारीको तलब, विदेशी पाउनाको स्वागत सत्कार, विदेश भर्मणका लागि जाने खर्च, नेपाली सेना, अस्पताल लगायतका ठाउँमा ठेकेदारले दिने रासनपानी, विकास निर्माणका काम कुनै पनि हुँदैनन्।

‘ठेकेदारले आफ्नै मनशायले काम सुचारु राखेर बजेट पास भएपछि खर्च लिनु अर्को कुरा हो। त्यो अवस्थामा पनि बेरुजू हुन सक्ने हुन्छ। बजेट होली डे भएको अवस्थामा भएका सबै खर्च बेरुजु महालेखा परीक्षको कार्यालयले गरिदिन सक्छ,’ उनले भने।

यो अवस्थामा सरकारी कर्मचारीले म बजेट पास भएपछि बिल दिन्छु अहिले यति काम गरिदिनु प¥यो भनेर कसैसँग पनि भन्ने नैतिकता रहँदैन। किन भने उनीहरु सरकारले बजेट पास गरेपछि पनि अहिलेको अवस्थामा भएका कामकोलागि चेक काटेर दिने जिम्मेवारी लिन नसक्ने बास्कोटाको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *