आइपिएलको दोस्रो चरण आजदेखि सुरु हुँदै, आज मुम्बइ र चेन्नइ भिड्ने
काठमाडौं। कोरोना महामारीका कारण रोकिएको इण्डियन प्रिमियर लिग आजदेखि पुनः सुरु हुँदैछ । भारतमा प्रतियोगिता चलिरहँदा कोरोना संक्रमणका केसहरु बढ्दो क्रममा देखिएपछि रोकिएको प्रतियोगिता अब युएइमा हुनेछ । प्रतियोगिता २ मेदेखि रोकिएको थियो । करिब १४० दिनपछि दोस्रो चरण सुरु हुन लागेको हो ।
आज डिफेण्डिङ च्याम्पियन मुम्बइ इण्डियन्स र चेन्नइ सुपरकिंग्सबीच खेल हुँदैछ । आजको खेल नेपाली समयअनुसार राती पौने ८ बजे सुरु हुनेछ । आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । आज चेन्नइले जितेमा अंक तालिबामा दिल्ली क्यापिटल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिनेछ ।
अहिले दिल्लीको १२ र चेन्नइको १० अंक छ । चेन्नइको नेट रनरेट दिल्लीको भन्दा राम्रो भएकोले अंक समान भए पछि चेन्नइ अगाडि जानेछ । मुम्बइले जितेमा चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिनेछ । मुम्बइ अहिले ८ अंकसहित चौथो स्थानमा छ ।
आइपिएलको अहिलेको सिजनमा यसअघिको खेलमा मुम्बइले ४ विकेटले जितेको थियो । यसअघिको खेलमा चेन्नइले २० ओभरमा ४ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । मुम्बइले ६ विकेटको क्षतिमा सफलतापूर्वक लक्ष्य हासिल गरेको थियो । यो मुम्बइले आइपिएल इतिहासमै आफूले पाएको सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको हो ।
यद्यपि आजको खेल दुबइमा खेलिँदैछ । आइपिएल २०२० मा यी दुईबीच दुबइमा खेल भएको थियो । त्यो खेल चेन्नइले ५ विकेटले जितेको थियो । तर, पछि मुम्बइले त्यो सिजनको उपाधि जितेको थियो । आज चेन्नइका दुई प्रमुख खेलाडी हुने छैनन् । साम करेन अनिवार्य क्वारेन्टाइनमा छन् र दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस फिट छैनन् ।







डिसी नेपाल







Facebook Comment