दशैंको अग्रिम टिकट खुलाउने तयारी
काठमाडाैं। यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ। विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार विभागमा डोकेको छ।
दशैंको समयमा काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढ्ने भएकाले विभागले हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । प्रत्येक वर्ष करीब २० लाखले काठमाडौं छाड्ने गरेकोमा अघिल्लो वर्ष कोभिड संक्रमणको त्रासका कारण टिकट काटेर ५ लाख मात्रै बाहिरिएका थिए । यातायात व्यवसायीले सीट संख्याभन्दा बढी यात्रु लगेकाले उक्त संख्या करीब ८ लाख भएको अनुमान गरिएको थियो ।
कोभिड संक्रमणको त्रास कायमै रहेको भए पनि यस वर्ष दशैंका लागि काठमाडौं छाड्नेहरू गतवर्षको भन्दा दोब्बर हुने अनुमान गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।
‘अग्रिम टिकट खुलाउनेबारे छलफलका लागि व्यवसायी र ट्राफिक प्रहरी महाशाखालाई बिहीवार विभागमा डाकेका छौं,’ उनले भने, ‘यात्रुको चाप बढ्ने निश्चित देखिएकाले असोज दोस्रो साताभित्र अग्रिम टिकट खुलाउने तयारी छ ।’
विभागले यसअघि सोमवार महासंघका प्रतिनिधि र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईलाई डाकेर भदौ १० गतेदेखि अग्रिम टिकट खुलाउन अनुरोध गरेको थियो । तर महासंघले व्यवसायीसँग छलफल गर्नुपर्ने भन्दै तत्काल अग्रिम टिकट खुलाउन आनाकानी गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment