शाहिद आफ्रिदी हिमालयको यात्रामा, यती एयरलाइन्सको पर्वतीय उडानको सुरुवात गरे

डिसी नेपाल
१० असोज २०७८ १३:१९

काठमाडौं। पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शाहिद आफ्रिदी नेपालको हिमाली क्षेत्रको उडानमा गएका छन् । यती एयरलाइन्सले आइतबारदेखि सुरु गरेको पर्वतीय उडानको सुरुवात आफ्रिदीले गरेका हुन् । एभरेष्ट प्रिमियर लिग खेल्न आएका आफ्रिदीसहित ४४ जना यात्रु लिएर यतीको पर्यतीय उडानको जहाज हिमालय क्षेत्रमा गएको हो ।

यतीले अब प्रत्येक आइतबार पर्वतीइ उडान गर्नेछ । अहिलेलाई प्रत्येक आइतबार उडान गर्न सुरु गरिएको भए पनि यात्रुको माग अनुसार उडान संख्या र तालिका परिवर्तन हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । हिमाल चढ्न नसक्ने र ट्रेकिङ जान नसक्ने व्यक्तिहरुका लागि पर्वतीय उडान आकर्षक मानिन्छ । पर्वतीय उडान मार्फत यात्रुहरुले लाङटाङ, गौरीशंकर, मेलुङ्छे, चो–यु, नुप्त्से, लोत्से, आमादब्लम, मकालु, सगरमाथा लगायत बिश्वका ८ वटा अग्ला हिमालको दृश्यालोकन गर्न सकिने भएकोले यसप्रति यात्रुहरूको आकर्षण बढेको छ ।

सुन्दर शान्त हिमाली मुलुक नेपालमा आएर पहिलो पटक पर्वतीय उडान गर्न पाउँदा आफूलाई खुसी लागेको र दृश्यावलोकनले आफूलाई रोमान्चित बनाएको अफ्रिदीले प्रतिक्रिया दिए । उनले कोरोनाभाइरसको जोखिम नेपालमा अत्यन्त कम रहेकोले ढुक्कसँग नेपाल घुम्न सकिने जानकारी समेत दिए ।

उडानपछि प्रतिक्रिया दिँदै उनले महत्वपूर्ण अवसर र आकर्षक दृश्यावलोकनका लागि यती एअरलाइन्स र चालकदललाई धन्यवाद दिए । लकडाउनसँगै आन्तरिक पर्यटनलाई आकर्षित गर्न यतिले हालसम्मकै सस्तो सगरमाथाको उचाई बराबर ८८४८ रुपैयाँमा पर्वतीय उडान गर्न सकिने आकर्षक प्याकेज ल्याएको र यसले आन्तरिक पर्यटकीय गतिविधी बढाउन मद्दत गर्ने प्रवक्ता बर्तौलाले बताए ।

तस्वीर सौजन्यः यती एयरलाइन्स




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *