२२५ को निःशुल्क आँखा उपचार

डिसी नेपाल
१६ असोज २०७८ २३:०६

काठमाडौं । गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि आजसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित शिविरमा ३८ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

अन्यले आँखा परीक्षण र उपचार सेवा पाएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । शिविर सञ्चालनका लागि भैरहवामा रहेको श्रीकृष्ण नेत्रालयले प्राविधिक र चिकित्सकीय सेवा उपलब्ध गराएको थियो । नेत्रालयका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायतको टोलीले आँखाको शल्यक्रिया गरेका थिए । शल्यक्रियामा लाग्ने खर्चका लागि हरिकृष्ण आई केयर फाउण्डेशन र लायन्स क्लब अफ मणिग्राम बुटवलले आर्थिक सहयोग गरेको जनाइएको छ ।

बेलैमा आँखाको परीक्षण गराउन नपाएका ग्रामीण भेगका सर्वसाधारण शिविरबाट लाभान्वित भएको समितिका अध्यक्ष थापाले बताए । घरगाउँमै विज्ञ चिकित्सकबाट आँखाको निःशुल्क उपचार गराउन पाउँदा बिरामीमा खुशी छाएको उनको  भनाइ छ ।

गत माघमा स्थापना भएको केन्द्रले आउँदा दिनमा पनि निःशुल्क शिविरलाई निरन्तरता दिने भएको छ । स्थानीयस्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार सेवा प्रदान गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको थियो । शल्यक्रियाबाहेक सबै उपचार सेवा केन्द्रबाट प्रदान हुने गरेकामा छिट्टै नियमित शल्यक्रिया सेवा पनि शुरु गर्ने तयारी भइहेको छ ।

दृष्टि जाँच, चश्मा वितरण, आँखा पोल्ने, चिलाउनेलगायत आँखाको प्राथमिक उपचार सेवा केन्द्रबाट प्रदान हुँदै आएको छ । गलकोटमै जन्मनुभएकी डा. केसीको विशेष पहलमा केन्द्र स्थापना भएको हो ।

अहिलेलाई खाली रहेको रेडक्रस भवनबाट केन्द्र सञ्चालनमा ल्याइएपनि पछि आफ्नै भवन बनाएर अस्पतालकै रुपमा स्तरोन्नति गर्ने योजना व्यवस्थापन समितिको छ । केन्द्र खुलेपछि आँखाको सामान्य उपचारकै लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *