पहिलोपटक साफ फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै
काठमाडौं। पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशाला नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुने खेलमा नेपाल मात्र एक अंक प्राप्त गर्न सके सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिपको १३औं संस्करण आइपुग्दा पहिलोपटक फाइनल पुग्नेछ।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन। बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ। साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी हो। यदि बंगलादेशबिरुद्ध हारले भने नेपाल सिंगल राउन्ड रोबिनको यस प्रतियोगिताबाट बाहिरिने छ।
नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले प्री म्याच पत्रकार सम्मेलनमा बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन्।
प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ। नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ४ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १-० ले पराजित भएको थियो।
बुधबार अर्को खेलमा भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छन् । फाइनलका लागि माल्दिभ्सलाई बराबरी काफी छ भने भारतलाई जितको विकल्प छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment