एमालेको संशाेधित विधान : एउटै तह र पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाइने (विधानसहित)

डिसी नेपाल
२ कार्तिक २०७८ ८:०७

काठमाडौं । नेकपा एमालेले आफ्नो संशोधित विधान सार्वजनिक गरेको छ। एमालेकाे  असोजमा भएको पहिलो विधान महाधिवेशनबाट संशोधित विधान सार्वजनिक भएको हो।

नेकपा एमालेले आफ्नो पहिलो विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म ललितपुरको गादावरीमा सम्पन्न गरेको थियो। उक्त महाधिवेशनबाट पारित मस्यौदालाई पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेललगायतका नेताहरुले अन्तिम टुङ्गो लगाएपछि प्रकाशनमा पठाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार २०७१ मा भएको नवौं महाधिवेशनबाट पारित धेरै व्यवस्थाहरू यस विधानमा संशोधन गरिएको छ। पहिलो विधान महाधिवेशनमा प्राप्त सुझावको आधारमा केही प्रावधानहरू पनि हेरफेर गरिएको छ।

नयाँ विधानमा कमिटी प्रर्णालीसम्बन्धि व्यवस्था गरिएको छ। केन्द्रीय कमिटीमा अध्यक्ष १ जना, बरिष्ठ उपाध्याक्ष १ जना, उपाध्यक्ष ४ जना, महासचिव १ जना, उपमहासचिव १ जना, सचिव ७ जनासमेत गरि २ सय २५ जनाको केन्द्रीय कमिटी निर्वाचन गरिने प्रावधान विधानमा राखिएको छ। प्रदेश कमिटीका अध्यक्षहरु केन्द्रीय कमिटीका पदेन सदस्य हुने व्यवस्था पनि विधानमा गरिएको छ।

केन्द्रीय कमिटी बाहेक तलका कमिटीहरुमा ५ जना पदाधिकारी राख्ने व्यवस्था गरिएको सचिव तामाङले जानकारी दिए। उनका अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, र उपसचिव २ जना पदाधिकारी हुने छन्।

उनका अनुसार महानगरपालिका एक सय एक सदस्यीय कमिटी हुने छ। उपमहानगरपालिका ८५ सदस्यीय, अन्य पालिका कमिटीहरु ७५ सदस्यीय हुने व्यवस्था नयाँ विधानले गरेको छ।
महानगरपालिकाको वडा कमिटीहरु ५१ सदस्यीय हुने छन्। उपमहानगरपालिकामा ४१ सदस्यीय र अरु नगरपालिका र गाउँपालिकाका वडाहरुमा ३१ सदस्यीय कमिटीहरु गठन हुने प्रावधान विधानमा रहेको कार्यालय सचिव तामाङले जानकारी दिए।

जिल्ला कमिटीको आधार संख्या ५० हुनेछ। यो संख्यामा जिल्ला अन्तर्गतका प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्र बराबर १५ का दरले कायम हुने संख्या थप गर्न सकिनेछ। तर, जिल्ला कमिटीको अधिकतम् संख्या १५१ र विशेष जिल्ला कमिटीको अधिकतम् सदस्य संख्या ६५ भन्दा बढी नहुने व्यवस्था पनि पार्टीको विधानले गरेको छ।

यस्तै विधानमा देशका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आई अस्थायी बसोबास गर्ने पार्टी सदस्यहरू मध्येबाट प्रदेश कमिटीस्तरको सम्पर्क समन्वय कमिटी गठन गरिने व्यवस्था पनि गरिएको छ।

पार्टीको निर्वाचन विधिभित्र समन्वय र संगठन कमिटीबाहेक सबै तहका कमिटी महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुनेछन् भनेर उल्लेख गरिएको छ। यस्तै, महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुने कमिटी वा निकायका पदाधिकारी वा सदस्यको निर्वाचन लोकतान्त्रिक विधिअनुरूप हुने पनि विधानमा उल्लेख गरिएको छ। निर्वाचन सम्बन्धी व्यवस्था केन्द्रीय निर्वाचन आयोगबाट तयार गरिएको निर्वाचन नियमावली बमोजिम हुने कार्यलय सचिव तामाङले जानकारी दिए।

यस्तै पाटीको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्नेछ। तर, महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपाङ्गता भएका व्यक्तिले भने सात वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्नेछ। तर, केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यका लागि उम्मेद्वार हुन केन्द्रीय कमिटीको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्ने विधानमा उल्लेख गरिएको छ।

पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था पनि विधानमा गरिएको छ।

कात्तिकको ६ गते वडाअधिवेशन र कात्तिकको नौं गते पालिका अधिवेशन गरिने पनि कार्यालय सचिव तामाङले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *