करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष
काठमाडौं। बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायाँकनमा जाने भएको छ।
कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यसपटक करिना कपुर खानलाई कास्ट गर्दैछन् । उनले करिनासँग काम गर्ने चर्चा सन् २०१२ मै चलेको थियो। उनको ‘कहानी’ दर्शकले रुचाएपछि उनले करिनासँग काम गर्न लागेको चर्चा बि-टाउनमा थियो।
यद्यपि उनले साथी विद्या बालनसँग नै कहानीको सिक्वेलमा काम गरे। पछिल्लो समय उनले ताप्सी पन्नुलाई लिएर बदला निर्देशन गरेका थिए। थ्रिलर फिल्मका दर्शकलाई रोमान्चक कथा पस्किने सुजोयले यसको छायांकन दार्जिलिङ र कालिङपोङमा गर्दैछन् । त्यहाँ दुई महिनाको सेड्युल राखिएको छ ।
करिनाले पनि आफू सुजोयको कामबाट प्रभावित रहेको बताएकी छिन् । उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै सुजोय राम्रो निर्देशकमध्ये एक रहेको बताइन् । ‘सुजोयलाई थाहा छ, उनले के बनाउँदै छन् । उनले थ्रिलर कथालाई न्याय गर्ने गरेका छन् । कहानी र बदलालाई उनले राम्रो स्क्रीनप्लेसहित दर्शकमाझ ल्याए,’ करिनाले भनिन् ।
सुजोय पनि करिनाले आफ्नो पात्रालाई न्याय गर्ने बताउँछन् । उनले फिल्मको बारेमा बोल्दै पात्रलाई करिनाको छायाँ पर्न नदिने बताए । ‘मेरो क्यारेक्टरमा स्टार देखिँदैन । तर, स्टारले क्यारेक्टर निर्वाह गर्दा धेरै दर्शकसम्म फिल्म पुग्न सक्छ,’ सुजोयले भने । करिना अभिनित ‘लालसिंह चड्डा’ आउँदो फेब्रुअरीमै रिलिज हुँदैछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment