लुक्ला, नाम्चेमा छायांकन सकेपछि मनाङ पुग्यो उचाइ युनिट
काठमाडौं। गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ। काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ। लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ।
आठ दिनको सेड्युल लिएर मनाङमा छायांकन सुरु गरिएको फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताएका छन्। उनले मौसमले केही समस्या ननिम्त्याए निर्धारित समयमै छायांकन सकेर फिल्म युनिट काठमाडौं हुँदै भारत फर्किने बताए।
‘फिल्ममा नेपालको पर्यटनलाई टेवा पुग्ने किसिमले हिमाली सुन्दरता कैद भइरहेका छन्,’ रेग्मी भन्छन्, ‘यो फिल्मपश्चात अन्य भारतीय व्यानर पनि छायांकनका लागि आउनेमा आशावादी छौँ।’
मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतको अभिनय रहेको छ। यद्यपि नेपालमा अमिताभ बच्चन आएका छैनन्।
चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ। बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ।
नेपालमा ४० देखि ४५ दिनकाे छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । हिमाली भेगमा छायांकनको लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment