भारत भर्सेज पाकिस्तानः यी हुन् आजको खेलमा नतिजा उल्ट्याउन सक्ने ५ सहायक भिडन्त

डिसी नेपाल
७ कार्तिक २०७८ १०:३९
1.3k
Shares

काठमाडौं। टि–२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । लामो समयदेखि एक अर्काको कट्टर प्रतिस्पर्धी मानिने यी दुई टिमबीचको भिडन्त सधैं ‘हाइभोल्टेज’ रहने गर्छ । पछिल्ला केही वर्षयता यी दुई टिमबीच द्विपक्षीय वा त्रिपक्षी सिरिज भएका छैनन् । यस्तोमा यी दुई टिमको भिडन्त आइसीसीको प्रतियोगितामा मात्र हुने गर्छ ।

आजको यो हाइभोल्टेज भिडन्तमा विराट कोहलीको नेतृत्वमा भारत र बाबर आजमको नेतृत्वमा पाकिस्तान मैदानमा उत्रिनेछन् । आजको खेलमा खेलाडी–खेलाडीबीच पनि सहायक भिडन्त हुनेछन् जसले यो महाभिडन्तको नतिजा उल्ट्याउन सक्छन् । खेलाडी–खेलाडीबीच हुने पाँच प्रमुख भिडन्तहरु यस्ता छन् जसले आजको खेलको नतिजामा ठूलो उलटफेर गर्छ सक्छन् ।

१. रोहित शर्मा भर्सेज शाहीन शाह आफ्रिदी

बायाँ हाते पेस बलरको अगाडि रोहित शर्माका कठिनाइहरु क्रिकेट फ्यानहरुलाई राम्रोसँग थाहा छ । खासगरी सुरुवाती ओभरमा बल कट भएर भित्रतिर आउँदा रोहित कठिनाइमा पर्छन् । २०१९ पछि टि–२० खेलमा बायाँहाते बलरहरुको अगाडि रोहितको औसत र स्ट्राइक रेट अपेक्षाको विपरित छ ।

टि–२० विश्वकपमा अहिलेसम्म रोहित ५ पटक बायाँहाते तीब्र बलरको बलमा आउट भएका छन् । अर्कोतर्फ शाहीन शाह आफ्रिदीले अहिलेसम्म ३० टि–२० अन्तर्राष्ट्रियमा ३२ विकेट लिएका छन् । शाहीन र रोहितको सामना अहिलेसम्म एक पटक मात्र २०१८ को एसिया कपमा भएको थियो जहाँ रोहितले यी बलरविरुद्ध सम्हालिएर ब्याटिङ गरेका थिए ।

२. विराट कोहली भर्सेज शदाब खान

भारतीय कप्तान विराट कोहली र लेग स्पिनर शदाब खानबीचको भिडन्त पनि भारत भर्सेज पाकिस्तान जस्तो ठूलो भिडन्तको नतिजा तय गर्न निकै सहयोगी हुन सक्छ । कोहली लेगस्पिनरविरुद्ध केही कमजोर छन् । उनले कैयौं पटक गुगली बलसँग धोका खाएका छन् । यद्यपि ठूलो प्रतिस्पर्धामा कोहली निखारिएर आएका देखिन्छन् । पाकिस्तानविरुद्ध सीमित ओभरको क्रिकेटमा उनले ८४.४४ को औसतमा २५४ रन बनाएका छन् । शदाब खानले टि–२० अन्तर्राष्ट्रियमा ५३ खेलमा ५८ विकेट लिएका छन् ।

३. बाबर आजम भर्सेज जसप्रित बुमराह

विराट कोहलीजस्तै बाबर आजमले पनि पाकिस्तानको लागि कप्तानीसहित ब्याटिङबाट मोर्चा सम्हाल्नेछन् । आजमले अभ्यास खेलमा वेष्ट इण्डिजविरुद्ध अर्धशतक बनाएका थिए । तर, दक्षिण अफ्रिकाविरुद्ध अभ्यास खेलमा केगिसो रबाडाले उनलाई १५ रनमै आउट गरे । यस्तोमा भारतले आफ्नो मुख्य अस्त्र जसप्रित बुमराहलाई प्रयोग गरेर पाकिस्तानी कप्तानलाई निशाना बनाउन सक्छ ।

बुमराहको प्रदर्शन पछिल्ला खेलमा पाकिस्तानविरुद्ध खराब छ । २०१७ को आइसीसी च्याम्पियन्स ट्रफी र २०१९ को विश्वकपमा बुमराहले पाकिस्तानविरुद्ध एक विकेट पनि लिन सकेनन् । २०१६ को टि–२० विश्वकपमा पनि बुमराहले पाकिस्तानविरुद्ध ४ ओभरमा ३२ रन दिएर १ विकेट लिएका थिए । बाबर आजमले टि–२० अन्तर्राष्ट्रियमा पाकिस्तानको लागि १३०.६४ को स्ट्राइक रेटमा २ हजार २०४ रन बनाएका छन् । बुमराहले ५० टि–२० अन्तर्राष्ट्रियमा भारतको लागि ५९ विकेट लिएका छन् ।

४. मलिक–हफिज भर्सेज जडेजा–चक्रवर्ती

पाकिस्तान बीचका ओभरमा भारतका स्पिनरमाथि दबाब बनाउनको लागि शोएब मलिक र मोहम्मद हफिजको अनुभवी जोडीमाथि भरोसा गर्न सक्छ । यस्तोमा भारतका रवीन्द्र जडेजा र वरुण चक्रवर्तीलाई साथमा दुई किनाराबाट बलिङ गराइने सम्भावना छ । दुवै खेलाडीले आइपिएलमा राम्रो प्रदर्शन गरेका थिए । तर, अनुववी स्पिनर रविचन्द्रन अश्विन पनि आफ्नो अनुभवका कारण प्लेइङ ११ मा पर्न सक्छन् । शोएब मलिक सधैं भारतविरुद्ध आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्छन् । हफिज पाकिस्तानलाई संकटबाट पार लगाउने खेलाडी हुन् ।

५. मोहम्मद रिजवान भर्सेज मोहम्मद शमी

आइपिएलमा मोहम्मद शमी राम्रो फर्ममा थिए । उनले अभ्यास खेलमा पनि इङल्याण्डविरुद्ध ३ विकेट लिएर आफ्नो लय कायम राखेका छन् । यस्तोमा भारतले नयाँ बलबाट विकेट लिन मोहम्मद शमीलाई प्रयोग गर्नेछ । शमीको नजर पनि पाकिस्तानी ओपनर मोहम्मद रिजवानलाई आउट गर्नेमा केन्द्रित हुनेछ । रिजवान पनि उच्च फर्ममा छन् । उनले यस वर्ष टि–२० अन्तर्राष्ट्रियमा ९४ को औसतमा सबैभन्दा धेरै ७५२ रन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *