यी ५ कारणले आज हुने विश्वकपको हाइभोल्टेज खेल पाकिस्तानले जित्न सक्छ
काठमाडौं। भारत र पाकिस्तान आज टि–२० विश्वकपमा आफ्नो पहिलो खेल खेल्दैछन् । यो खेल युएइको दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । दुवै टिम जीतको रणनीति बनाउन जुटेका छन् ।
विश्वकपको इतिहासमा पाकिस्तानले कहिल्यै पनि भारतलाई जित्न सकेको छैन । यस्तोमा यी दुईबीच हरेक विश्वकपका खेल नयाँ रेकर्ड बनाउने र तोड्ने सम्भावनाको साथमा दबाब लिएर आउँछ ।
पाकिस्तान टिममाथि पनि यो दबाब छ र दुई देशबीचको अहिलेको सम्बन्धका कारण यो दबाब अझै बढ्छ । भारतीय टिमको हालका प्रदर्शन र विश्वकपमा यसअघिका खेलमा गरेको प्रदर्शनका आधारमा उनीहरुको मनोबल उच्च हुन सक्छ तर केही यस्ता कारण छन् जसले पाकिस्तानलाई जीततर्फ लैजान सक्छन् ।
१. युएइको स्थितिको अनुभव
पाकिस्तानका खेलाडीहरुसँग युएइमा खेलेको धेरै अनुभव छ । पाकिस्तानले युएइमा ३६ टि–२० अन्तर्राष्ट्रिय खेलेको छ । तीमध्ये २५ खेल दुबइ इनटरनेशनल क्रिकेट स्टेडियममा खेलेको छ । आजको खेल यही स्टेडियममा हुँदैछ ।
भारतले भने दुबइमा त के पूरै युएइमा टि–२० अन्तर्राष्ट्रिय खेलेकै छैन । यसको फाइदा पाकिस्तानले उठाउन सक्छ । यद्यपि भारतको पक्षमा एउटा कुरा यो पनि छ कि भारतीय खेलाडीले हालै युएइमा आइपिएल खेलेका छन् ।
२. बाबर र रिजवानको जोडी
पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानको जोडीलाई धेरै विश्वासिलो मानिन्छ । पाकिस्तानी मिडियामा यो जोडीलाई सइद अनवर र आमिर सोहेलपछि पाकिस्तानको सबैभन्दा राम्रो ओपनिङ जोडी बताइँदैछ ।
बाबर–रिजवानको जोडीको औसत ५२.१० रन र रन रेट ९.१६ को छ । पाकिस्तानका ओपनिङ ब्याटरहरुले अहिलेसम्म भारतलाई कडा चुनौती दिन सकेका छैनन् तर यस पटक दृश्य फरक हुन सक्छ ।
३. धोनी टिममा नहुनु
भारतले अहिलेसम्म पाकिस्तानसँग ८ टि–२० अन्तर्राष्ट्रिय खेलेकोमा ७ वटा जितेको छ । र, यी सबै ८ खेलमा टिमको नेतृत्व महेन्द्र सिंह धोनीले गरेका थिए । धोनीको अनुभव र उनको नेतृत्वको फाइदा आजको खेलमा भारतीय टिमले पाउने छैन ।
यद्यपि विराट कोहलीले पनि भारतीय कप्तानको रुपमा राम्रो प्रदर्शन गरेका छन् । तर, बदलिएका कप्तानको साथमा बदलिएको स्थिति पनि आउनेछन् ।
४. विराट कोहलीमाथि दबाब
भारतीय कप्तान कोहलीले यो विश्वकपपछि भारतको टि–२० टिमको कप्तानी छोड्ने घोषणा गरिसकेका छन् । यसको साथै उनको ९ वर्ष पुरानो कप्तानीको सिलसिला समाप्त हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले २००७ मा पहिलो टि–२० विश्वकप जितेको थियो तर त्यसपछि भारतले अर्को उपाधि जित्न सकेको छैन ।
यो विराट कोहलीको कप्तानीमा अन्तिम विश्वकप हुनेछ जसलाई जित्नु उनको लागि निकै महत्वपूर्ण हुनेछ । विराट कोहली आफ्नो कप्तानीको नाममा यो विश्वकप दर्ता गर्न चाहनेछन् । साथमा कोहलीले विगत केही समययता ठूलो स्कोर बनाउन सकेका छैनन् । यस्तोमा उनीमाथि आफ्नो प्रदर्शन र टिमको प्रदर्शनको दबाब हुनेछ ।
५. केही घण्टाको राम्रो खेल
टि–२० खेलमा पाकिस्तानमाथि भारतको पल्ला भारी रहेको छ तर टि–२० खेलको फरम्याट पाकिस्तानको टिमको लागि सहयोगी बन्न सक्छ । यो यस्तो फरम्याट हो जसमा ३–४ घण्टासम्म राम्रो प्रदर्शन गर्नु र फर्म कायम राख्नु जरुरी हुँदैन । केही राम्रा ओभर वा आधा घण्टाको राम्रो खेलले जीत आफ्नो पक्षमा ल्याउन सक्छ ।







डिसी नेपाल







Facebook Comment