तनहुँमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

डिसी नेपाल
१६ कार्तिक २०७८ १२:४९
56
Shares

तनहुँ। तनहुँमा देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । देउसी भैलो खेल्दा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

कोरोना संक्रमणकाे जाेखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अनिवार्य गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए। ‘जोखिम कायमै रहेकाले जोखिमबाट बच्दै चाडपर्व मनाउनुपर्ने अवस्था छ। कोरोना संक्रमण फैलन नदिन जिल्लावासीले सावधानी अपनाउनेमा विश्वस्त छौँ’, उनले भने।

प्रशासनले तिहारको बेलामा हुने मेला महोत्सव, जात्रालगायतका भिडभाड हुने कार्यक्रम गर्नसमेत रोक लगाएको छ। पूजापाठलाई घरमै सीमित बनाउन प्रशासनको सुझाव छ । अनावश्यक यात्रा नगरीकन आफ्नै परिवारका सदस्य मिलेर घरमै चाडपर्व मनाउनुपर्ने अर्याल बताउँछन्।

जिल्लामा हाल ५१ जना कोरोनाका सक्रिय संक्रमित छन् । संक्रिमत सबै होम आइसोलेसनमा बस्दा संस्थागत आइसोलेसन केन्द्र रित्तो छन्। जिल्लामा दैनिक १० जनाभन्दा कम कोरोना संक्रमित थपिने गरेका छन्।

कोरोनाकाे दोस्रो लहर फैलिएपछि वैशाखयता पाँच हजार तीन सय ७९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। तीमध्ये पाँच हजार दुई सय चार जना निको भए । एक सय २४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.