हस्तकला उत्पादनको बजारीकरणका लागि मेलाले सहयोग गर्दै आएको छः अध्यक्ष

डिसी नेपाल
३ मंसिर २०७८ १७:४९

काठमाडौं ।नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपालको मौलिक उद्योगका रुपमा रहेका हस्तकलाले २०४८ देखि नै व्यापार प्रवद्र्धनका लागि सरकारसँगको सहकार्यमा मेला आयोजना गर्दै आएको जानकारी दिए। हस्तकला उत्पादनको बजारीकरणका लागि मेलाले सहयोग गर्दै आएको उनले बताए ।

“हस्तकलाले आन्तरिक रोजगारी सृजनामा सहयोग गरेको छ, नेपाल आउने पर्यटकले चिनोका रुपमा लैजाने सामग्रीका रुपमा हस्तकला उद्योग उपयोग हुने गरेको छ, कोभिडको जोखिम कायमै रहेपनि वार्षिक रु छ अर्बको सामग्री विदेश निर्यात हुने गरेको छ”–अध्यक्ष शाक्यले भने ।

हाल आन्तरिक बजारमा वार्षिक रु दुई अर्बको हस्तकलाका सामग्री वितरण हुने गरेको छ । हस्तकला उद्योगले आठ लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोजगारी दिएको छ । त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सार्क हस्तकला विकास केन्द्र निर्माण सम्पन्न भई सञ्चालन हुने तयारीमा रहेको छ । महासङ्घले हस्तकला ग्रामको अवधारणा दुई दशकअघिदेखि अघि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन । हस्तकला नीति बनाएर सरकारलाई बुझाएको एक दशक पुग्न लाग्दासमेत जारी नभएको महासङ्घले जनाएको छ ।

व्यापार मेला संयोजक रबिन्द्र शाक्यले विसं २०२९मा स्थापना भएको महासङ्घमा हाल चार हजार २५५ सदस्य रहेको जानकारी दिए । महासङ्घको नेतृत्वमा ललितपुरलाई विश्वमै ३५औँ कला नगरी घोषणा गर्न सफल भएको उनले सुनाए । मङ्सिर ५ गतेसम्म सञ्चालन हुने मेला एक लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यापार मेलामा रु पाँच करोडका हस्तकलाका सामग्री बिक्री वितरण गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ ।

कोरोना महामारी शुरु भएपछि विदेशी पर्यटक घटेका कारण हस्तकला उद्योगमा समस्या आएकाले आन्तरिक बजार प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्ने कार्यक्रम संयोजक शाक्यको माग छ । मेलाका लागि सरकारी निकाय निर्यात प्रवद्र्धन केन्द्रले पहिले लागतको आधा सहयोग गर्ने गरेकामा कोरोना महामारीबाट हस्तकला उद्योगको व्यापार घटेका बेला घट्नु दुःखद् भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *