निमित्त प्रहरी महानिरीक्षक शाहीद्वारा निर्देशन

डिसी नेपाल
५ मंसिर २०७८ २२:३६

काठमाडौं ।नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी कर्मचारीलाई सङ्गठनको नीति निर्देशन एवं प्रचलित कानुन अनुसार परिचालित भई काम गर्न निर्देशन दिएका छन् ।

हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका प्रहरी कर्मचारीलाई आज यहाँ निर्देशन दिँदै उनले सङ्गठनको उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शीताका साथ पालना गर्न निर्देशन दिए । अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रणलगायत विषयमा विशेष चनाखो भई सामूहिक भावनाका साथ काम गर्न सो अवसरमा उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको महासभामा भाग लिन आजै टर्की प्रस्थान गरेकाले उनले आफ्नो कार्यभार प्रहरी अतिरीक्त महानिरीक्षक शाहीलाई सुम्पिएका छन् । सो अवसरमा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले हरेक प्रहरीले कार्यक्षमतालाई ख्याल गर्दै राम्रो आचरण र व्यवहारका साथ पारदर्शी एवं निष्पक्ष तरिकाले काम गर्नुपर्नेमा जोड दिए । उच्च व्यावसायिक आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्न उनले निर्देशन दिए ।

प्रहरी नायब महानिरीक्षक रविन्द्रबहादुर धानुकले प्रहरी प्रधान कार्यालय कार्य विभागको तर्फबाट, प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट र प्रहरी नायब महानिरीक्षक राजेशकुमारलाल कर्णले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तर्फबाट निर्देशन दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *