महोत्तरी र धनुषाको चुरे काछका बस्तीमा हात्तीको त्रास

डिसी नेपाल
८ पुष २०७८ १४:२२
56
Shares

काठमाडौं। चुरे पहाडतिर जङ्गली हात्ती हिँड्न थालेपछि महोत्तरी र धनुषा जिल्लाका चुरे काछका बस्तीमा त्रास बढेको छ । उत्तरतर्फ प्रदेश नं २ र बागमती प्रदेशको सीमा छुट्याउने चुरे पहाडमा जङ्गली हात्तीको हिँडडुल बाक्लिएकाले दक्षिणी काछका महोत्तरी र धनुषा जिल्लाका बस्तीमा त्रास बढेको हो ।यसै साता चुरेपारिको सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका विभिन्न बस्तीमा हात्तीले घर भत्काउनेदेखि अन्नपात नोक्सान गर्न थालेको खबरले चुरे दक्षिणका बस्तीका बासिन्दा निदाउन सकेका छैनन् ।

“उ त्यैँ पारि हात्तीले विध्वंश मच्चाएको छ, कसरी निदाउनु ?” बर्दिवास नगरपालिका–३ को चुरे काखको बस्ती रजबासका सामाजिक कार्यकर्ता रामबहादुर थापा भन्छन्, “हिउँद लागेपछि सधैँ त्रासमा बाँच्नुपर्ने हाम्रो नियति नै बन्यो ।” सिन्धुलीको दुधौली नगरपालिकाका पत्रिङ्गा, जगाडी हुँदै कालापानीसम्मका ३५ घर जङ्गली हात्तीले पछिल्ला तीन दिनबीचमा भत्काएर अन्नपात नोक्सान गरेको खबरले निदाउन नपाएको थापा बताउँछन्

काछका बस्तीमा हिउँद लागेपछि वर्षेनी जङ्गली हात्तीको समूहले उधुम मच्चाउने गरेको छ । महोत्तरीतर्फका खयरमारा, गणन्ता, वरडाँडा, सोनापेटी, पर्साहीधाप, कालापानी, पाटु र राईमण्डलसहितका बस्तीका बासिन्दाले हात्ती आतङ्क व्यहोर्दै आएका छन् । जङ्गली हात्तीले यी बस्तीमध्ये धेरै नोक्सानी गर्नेमा पर्साहीधाप, रजबास, कालापानी र राईमण्डल परेका बर्दिबास–३ का वडाध्यक्ष राजन ढुङ्गाना बताउँछन् । महोत्तरीका यी सबै बस्ती बर्दिवास नगर क्षेत्रका हुन् ।

“हात्तीको एउटै बाटो हुँदोरहेछ क्या र ? वर्षेनी जङ्गली हात्तीको समूहले उही बाटो समात्ने गरेको देखिन्छ”, ढुङ्गाना भन्छन्, “सिन्धुलीतिर उत्पात मच्चाएको एक/दुई दिनमै हात्तीको समूह महोत्तरीतिर झर्ने गरेको पुरानो रितिजस्तै बनेको छ ।” समूहमा तीनदेखि पाँचवटासम्म हात्ती देखिने गरेका छन् ।हिउँदमा हुने हात्ती विचरणको महिना भने कात्तिकदेखि माघसम्म हुने गरेको काछ क्षेत्रका बासिन्दा बताउँछन् । कहिले एकपटक र कुनै कुनै वर्ष दोहो¥याएर पनि हात्तीको बथान बस्ती पस्ने गरेको गणन्ता बस्तीका कारमान स्याङ्वाको भनाइ छ ।

चुरेसँग सीमा जोडिने महोत्तरीमा एउटै बर्दिवास र धनुषामा मिथिला र गणेशमान चारनाथ नगरपालिकाका बस्ती पर्छन् । दुवै जिल्लाका चुरे पहाडका दक्षिणी पाखा बस्तीमा प्रत्येक वर्षजसो हिउँदमा जङ्गली हात्तीको विध्वंश खेप्नुपरेको सर्वसाधारणको गुनासो छ । जङ्गली हात्तीले परार र पोहोर पनि रजबास र पर्साहीधापका सात घर भत्काएको थियो ।

त्यसैगरी धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा जङ्गली हात्तीले पछारेर आफ्ना छिमेकी मारेको घटना सम्झँदै मुटु ढकढक हुने गरेकोे सञ्चारकर्मी विजयकुमार सिंह बताउँछन् । ढल्केबरमा परार हात्तीले एक जनालाई पछारेर मारेको थियो । वर्षेनी हात्ती आतङ्क खेप्दै आएका चुरे काछका बासिन्दाले यो समस्याको निदान भने भेट्टाएका छैनन् । “के गर्दा हात्ती बस्ती पस्न छाड्ला ?” यी बस्तीका बासिन्दाको यो साझा जिज्ञासा हुने गरेको छ ।

निकै अघिदेखि हात्तीको ओहोरदोहोर हुने चुरेको सघन वन क्षेत्रका पुरानो बाटो मासिएर बस्ती बढ्नु मुख्य समस्या बनेको वन्यजन्तुविज्ञ बताउँछन् । “हात्ती हिँड्ने पुराना बाटा मासिएका छन्, ती ठाउँमा घरबार बने, आफ्नो बाटो नभेटेपछि हात्तीले बदमासी गर्ने गरेको पाइन्छ”, वन्यजन्तुको आनीबानी बुझ्नु भएका डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंह भन्छन्, “वनमा आफ्नो बाटो भेटुञ्जेल कुनै बदमासी गरेको नदेखिने हात्ती केही वर्ष पहिले वन मासेर घर बनेका ठाउँमा पुग्नासाथ उग्र बन्छ ।” वन्यजन्तुको विचरण गर्ने थलो र बाटो दख्खल नगरीदिनु नै यसको राम्रो समाधान हुने सिंहको ठम्याइ छ ।

पछिल्ला केही वर्षयता हात्तीमात्र नभएर निलगाई, दुम्सी, बँदेल र मृगलगायत वन्यजन्तु पनि बस्ती पस्न लागेका छन् । बँदेल र निलगाई त आहाराको खोजीमा महोत्तरीको सुदूर दक्षिणी भारतीय सीमासम्मका बस्तीमा बाली खान पुग्छन् । वन क्षेत्रमा बढ्दै गएको मानव हस्तक्षेपले आहारा घट्दै गएपछि वन्यजन्तु बस्ती पस्ने क्रम बढेको चुरे जलाधार क्षेत्रको संरक्षण अभियानमा जोडिदै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *