अपराजित नेपाली महिला टोलीले फाइनलमा उज्वेकिस्तानलाई पनि हराएर उपाधि जिते
काठमाडौं। नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।
मङ्गलवार बाङ्ग्लादेशको मिरपुरमा भएको निकै नै प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३-२ ले पराजित गर्दै महिला टोलीले उपाधि रक्षा गरेको हो।
यसअघि सन् २०१९ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो।
त्यो नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो।
त्यसलगत्तै टोलीले काठमाण्डूमा भएको १३ औँ दक्षिण एशियाली खेलकुदको फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको थियो।
लिग खेलमा नेपालले उज्बेकिस्तानलाई सोझो सेटमा पराजित गरेको भए पनि फाइनला प्रतिस्पर्धात्मक थियो।
अधिकांश समय अङ्कमा अग्रता लिएको उज्बेकिस्तानले पहिलो सेट २६-२४ ले हारे पनि दोस्रो सेट उस्तै गरी जितेको थियो।
तेस्रो सेटमा नेपाल हावी भयो र २५-१५ को सहज विजय हात पार्यो। चौथो सेट उज्बेकिस्तानले पुनरागमन गर्दै २५-२२ ले जितेर खेललाई अन्तिम सेटमा पुर्यायो।
निर्णायक सेट नेपालले १५-१० ले जित्दै उपाधि रक्षा गरेको थियो।
नेपालले राउन्ड रोविनको आधारमा भएको लिग चरणका सबै पाँच खेल जितेर उपाधि रक्षा गर्ने बलियो सङ्केत प्रस्तुत गरेको थियो।
पहिलो खेलमा श्रीलङ्काविरुद्ध २-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले ३-२ ले खेल जितेको थियो।
त्यसपछि आयोजक माल्दिभ्स, बाङ्ग्लादेश, उज्बेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराएर नेपाल शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको थियो।
डिसेम्बर २३ बाट सुरु भएको महिला तथा पुरुष प्रतियोगितामा सेन्ट्रल जोनमा रहेका छ राष्ट्रहरू सहभागी हुन्छन्।
एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप भलिबलको अन्तर्राष्ट्रिय वरीयताक्रम अनुसार दोस्रो तहको प्रतिस्पर्धा हो।
महिला भलिबलमा नेपाल वरीयताको ८७औँ स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment