एभीसी सेन्ट्रल जोनः पुरुष टोली पदकविहीन
काठमाडौं। तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाली पुरुष भलिबल टोली एभीसी सेन्ट्रल एसियन पुरुष तथा महिला च्यालेन्ज कपमा पदकविहीन भएको छ ।
बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्ड हलमा नेपालमाथि उज्वेकिस्तानले २५-१५, २५-१७ र २५-२१ को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । यसअघि समूह चरणको खेलमा नेपालले उज्वकिस्तानलाई १८-२५, २५-२१, २५-२१ र २५-२३ को सेटमा पराजित गरेको थियो । जसको बदला उज्वेकिस्तानले सोझो सेटमा हराउँदै लिएको छ ।
पाँच वर्षअघि माल्दिभ्समा भएको यही प्रतियोगितामा नेपालले काँस्य पदक जितेको थियो । त्यो नेपाली पुरुष भलिबल टोलीले जितेको पहिलो पदक हो । राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा श्रीलंका र बंगलादेशसँग पराजित नेपाल उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै काँस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो ।
यता, पुरुष टोली पदकविहीन हुँदा महिला टोलीले भने मंगलबार नै उज्वेकिस्तानलाई ३-२ सेटले हराउँदै च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपाधि हात पारेको छ ।







डिसी नेपाल







Facebook Comment