तिला र तातोपानी गाउँपालिका तीन महिनादेखि अन्धकारमा

डिसी नेपाल
२२ पुष २०७८ ७:०३
52
Shares

कर्णाली। गत कात्तिक १ गते आएको भीषण बाढी र पहिराका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन्।

करिब एक शताब्दीपछि आएको भीषण बाढी र पहिराले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पु¥याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा उज्यालो छैन । स्थानीयवसीले अहिले देवदार वा सल्लोको झरो (दियालो) बालेर काम चलाउँदै आएका छन् ।

त्यहाँका स्थानीयले अहिले सामान्यतः मोबाइल चार्ज गर्न पाएका छैनन्। विद्युत् नहुँदा कुटानीपिसानी मिल पनि सञ्चालनमा आउन सकेका छैनन् । तीन महिनायता अन्धकारले गर्दा पशुजस्तो जीवन जीउनुपरेको तिला–४ साँपुल्ली गाउँका जमाने सुनारले दुखेसो पोखे।

“मान्छेहरु खाना पकाउने, टिभी चलाउने, उद्योगधन्दा चलाउने सबै काम विद्युत्बाटै गर्छन् तर हामीलाई घरमा उज्यालो हुने बिजुली छैन”, सुनारले भने, “हामीजस्ता गरिबका निम्ति बिजुली कसले ल्याइदिने ? सामान्य मोबाइल चार्ज हुन नसक्दा कालापहाड गएको छोरासँग फोन गर्न पाइएको छैन ।”

बाढी र पहिराले गर्दा तिला–४ साँपुल्ली, रावतवाडा, नुवकोट गाउँमा सबैभन्दा बढी क्षति पुर्याएको छ भने तातोपानी–४ का हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ तथा ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायतका क्षेत्रको विद्युत् क्षति पु¥याउनुका साथै सयौँ कित्ता जमिन कटान गरेको छ।

त्यस्तै बाढीले सयौँ किसानको धान, मकै, सिमी, चिनो, कोदोबाली र स्याउ बगैँचा, स्थानीय घट्ट, चिरानी, कुटानीपिसानी मिल बगाएको थियो । क्षतिबाट प्रभावित क्षेत्रका नागरिकले अहिलेसम्म महसुस हुने गरी कुनै पनि सरकारबाट राहत प्राप्त गरेका छैनन्। गत कात्तिकमा कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको टोलीले बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो।

मन्त्री भण्डारी नेतृत्वको टोलीले स्थलगत अवलोकनबाट फर्केर तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बाढीपीडित नागरिकलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन प्रभाव पार्ने खालका प्याकेज कार्यक्रम सञ्चालन गर्न मागपत्रसहित ध्यानाकर्षण गराएको थियो ।

विद्युत्का खम्बा गाड्न ४२ लाखको बोलपत्र आह्वान

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जुम्लाका बाढी र पहिरो प्रभावित क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्न खम्बा गाड्ने योजनालाई अघि बढाएको छ । यसका लागि केन्द्रले झण्डै रु ४२ लाखको बोलपत्र आह्वान गरेको छ ।

विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत कूल रु दुई करोड ५० लाख लागतमा राष्ट्रिय विद्युत् प्रसारण प्रणाली विस्तारका लागि खम्बा गाड्न रु ४१ लाख ८१ हजार ९२० को बोलपत्र आह्वान गरिएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए।

राष्ट्रिय विद्युत् प्रसारण प्रणाली विस्तारका लागि तिला–४ को त्रिवेणीदेखि नुवाकोट, तातोपानीका वडा नं ७ र ८ मा पर्ने तथा सर्मी, सुर्कीदेखि ताम्ती र गुठिचौर गाउँपालिकाका विभिन्न ठाउँमा पोल गाड्न बोलपत्र आह्वान गरिएको केन्द्र प्रमुख रावलले बताए। “बोलपत्र आह्वान भएअनुसार ठेकेदार छनोटमा दुई÷तीन महिना लागिहाल्छ”, उनले भने, “ती ठाउँमा विद्युत् प्रसारण लाइन जोड्न दुई वर्ष लाग्छ।”

अहिलेको रु दुई करोड ५० लाख बजेटबाट जहाँसम्म पुग्छ त्यहीसम्म पोल गाड्ने उहाँको भनाइ थियो। उनका अनुसार विकल्पका रुपमा पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई जेनेरेटरबाट विद्युत् आपूर्ति गर्ने भनिए पनि यो झण्झटिलो र खर्चिलो भएकाले जनतालाई झन सास्ती हुने केन्द्र प्रमुख रावतले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *