जुम्लाको नाम फेरिँदै : अब मेडिकल हब जुम्ला

डिसी नेपाल
२७ पुष २०७८ १३:३४

जुम्ला। जुम्ला नाम सुन्नासाथै धेरैको आँखाअघि दुर्गम, पिछडिएको क्षेत्र, अशिक्षा, खाद्यन्न अभाव, आधुनिक भौतिक पूर्वाधारविहीन क्षेत्रको दृश्य आउन थाल्छ। जुम्लाले कयौं वर्षदेखि यस्तै परिचय बोक्दै आएको पनि छ। तर, केही समययता जुम्ला शताब्दीऔँ देखिएको आफ्नो नाम बदल्ने दौडमा छ। केही समयपछि जुम्ला ‘मेडिकल हब जुम्ला’ बन्ने तयारीमा छ।

कुनै समय स्वास्थ्यकर्मी अभावमा बाँचेको जुम्ला अहिले डाक्टरी (एमबीबीएस) पढाइ हुने जिल्ला बनेको छ । २६ मंसिरमा जुम्लामा एमबीबीएससहित मेडिकल शिक्षा कार्यक्रम सुरू भएपछि यहाँ भौतिक संरचना निर्माणले गति लिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारेचौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माणको तयारी गरेको उपकुलपति डा. मंगल रावलले बताए ।

उनले भने, ‘प्रतिष्ठानले एमबीबीएस सुरू गरेपछि यो स्थानलाई ‘मेडिकल हब’को रुपमा विकास गर्न २३ वटा भवन निर्माण योजना अगाडि बढाइएको छ ।’ उनले अब च्यारेलाई प्रतिष्ठानको दीर्घकालिन योजनामार्फत मेडिकल हबको रुपमा विस्तार गरिदै लगिने बताए।

एमबीबीएससहितका शैक्षिक कार्यक्रमहरूको अध्ययन अध्यापन गराउन चन्दननाथ नगरपालिका–३ का स्थानीयले च्यरेचौरमा निःशुल्क जग्गा प्रदान गरेका छन् । च्यारेचौरमा एक भवन भने निमार्णाधीन अवस्थामा छ भने अरु भवन पनि रसुवा कम्पनीले बनाउन थालेको छ ।

जुम्लाको डाँफे लेकनजिक च्यारेचौर जुम्ला भ्यालीको अग्लो स्थान हो । सो स्थान पर्यटकीय क्षेत्रको रुपमा समेत परितिच छ । मेडिकल शिक्षाको अध्ययन हुने भएकोले जुम्ला र च्यारे संसारकै रोलमोडेल मेडिकल हब हुने सम्भावना छ ।

हिमाली क्षेत्र जहाँ हिउँदभर हिउँले ढाक्ने भागमा अब सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनले च्यारे चौरमा रहेको पाँच सय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको बताए ।

र भएको र तीन सय रोपनी प्रतिष्ठानको नाममा दर्ता समेत भइसकेको छ । सोही क्षेत्रमा शैक्षिक भवनहरू निर्माण हुनेगरी नेपाल सरकार समक्ष योजना पेश भएको छ । जुम्ला सदरमुकाममा रहेको तीन सय शैयाको अस्पताल क्षेत्रमा अहिले एमबीबीएस लगायतका कक्षा संचालन भइरहेका छन् । बर्षेनी बिरामी बढ्दै जाने र संरचना साघुँरो हँुदै गएकाले एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न च्यारेमा ठूला भौतिक संरचना निर्माण गर्न लागेको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्रनजिक तीन वटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा पाएको छ । उनले भने, ‘पछिल्लो समय प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्न २० जना विद्यार्थी भर्ना भइसकेका छन्। जुम्लामा प्रतिष्ठान स्थापनापछि स्वास्थ्य क्षेत्रको मात्रै नभइ जुम्ला जिल्लाकै परिचय बदलिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *