कथा : विजयश्री सर्दै छ

डिसी नेपाल
१ माघ २०७८ ७:१६
120
Shares

गेम टिचरले उदाहरण दियोः

भूधर बलवान् थियो। त्यसै भएको हुँदा जनसंसदले उसलाई हनुमान सिंह भन्न थाल्यो। ऊ हनुमान सिंह नै ठहरियो। प्रत्येक प्रतियोगितामा ऊ अखडामा पुग्थ्यो। कुस्ती लडेर विजय हाँसिल गथ्र्यो। पुरस्कार लिन्थ्यो। प्रमाणपत्र बुझ्थ्यो र स्यावासी बटुल्थ्यो। डेढ दशक अर्थात १५ वर्ष ऊ एकमात्र बिजेता भयो।

यसपटक स्थिति अर्को थियो। अखडामा कुस्ती लड्न नयाँ अनुहार आउने भए। सूचना फैलियो। प्रतियोगिताको दिन नजिक आउँदै गयो। आवेदन थपिँदै गए। अवस्था बुझेर उसका हितैषीहरुले सल्लाह दिँदै भने‐‘हनुमान सिंह, तिमी यो पटक कुस्ती नलड। अघिल्लो पटक विजेता भएकै हौँ। १५ वर्षदेखि विजश्री तिम्रै हातमा छ। आजै तिमी घोषणा गर–कुस्तीबाट सन्यास लिन्छु र गुरु भएर बस्छु। यो निर्णय सधैं आदरणीय हुनेछ। किन बहरसँग जुद्छौ?’

हो वत्स तिमी हार्न सक्दैनौँ, हार्न जानेकै छैन। हिजो सम्मको स्थिति यही हो। अहिले परिस्थिति अर्कै छ। जो श्रेष्ठ थियो, त्यो ढलेको छ। विजयश्री अन्त, अन्त सर्दै छ। अरु खेलमा पनि यहाँसम्म कि युद्ध भूमिको र आर्थिक कारोबारको स्थिति पनि फेरिँदै छ। त्यसैले बुद्धिमानी हुन्छ-तिमी प्रतियोगी बनेर अखडामा भिड्न नजाऊ। राग र अहम त्याग। संयम लिएर बस। आजसम्मको कीर्तिमान थाम र त्यसलाई इज्जत देऊ। कदाचित पराजय भोग्नु पर्यो भने आत्महत्या गरे बराबर हुन्छ। परिवार र आफन्त दुखी हुन्छन्। समय छँदै घोषणा गर। तिमी अबदेखि लामो विश्राम लिनेछौ। बरु अरुको खेल हेर। आफूलाई हारजितको प्रतिस्पर्धाको ज्वालामा नहोम। इतिहास जोगाऊ विजयश्रीलाई दाउमा नराख। वत्स मेरो प्रस्ताव पनि र आदेश पनि यही हो। अवज्ञा नगर।

हनुमान सिंहलाई उसका गुरुले पनि सम्झाए। आँखा खोल्ने यत्न गरे। किन्तु ऊ मदान्ध थियो। तुजुक छोडेन। साथीको कुरा पनि सुनेन। गुरुको भाव पनि सम्झेन। आखिर कुस्तीका लागि अखडामा पुगेर भिड्नासाथ प्रतियोगी नौजवानले प्रत्येक चरणमा पराजित गरिदियो। यहाँसम्म कि उसको एउटा टाङ नटेक्ने भयो र उसलाई अस्पताल दौडाउनु पर्‍याे।

‘हो, कहिले काँही जुरे साँडेलाई तुजुकदार बहरले पनि फ्याँकिदिन्छ। यो देखेकै हो। राजनीतिका कुरा पनि यही हो–कहिले को बलियो, कहिले को। फेरि दुश्मनी दोस्तीमा तुरुन्तै फेरिन्छ। संयम त लिनै पर्छ।’

साँच्चै भन्ने हो भने, हनुमान सिंहले कुनै दाउ लिनै सकेन। प्रतिष्पर्धी युवक यति छिटो र यति दाउ जान्दथ्यो कि हनुमान सिंहले भेउ पाउनै सकेन। चितका चित भोग्दै रह्यो। दर्शकहरु ताली बजाउँदै रहे। तमासा नै थियो। उसको चिन्तनको स्नायुले काम गर्नै छोडेछ।

त्यसैले विजेताले आफ्नो श्रेष्ठतालाई जोगाएर हिड्नुपर्छ। जतासुकै भिड्दै हिँड्नु हुँदैन। नत्र आर्जन गरेको महत्व वा वढप्पनको यश माटोमा मिल्छ।

‘प्रशिक्षक महोदय तपाइँले बलवानहरुको जय‐पराजयका कथा जोेडेर आजसम्म गनिएका शक्ति राष्ट्रहरुलाई आफ्नो अस्तित्व कायम राख्नका लागि फेरि आफूलाई दाउमा नथाप है भन्न खोज्नु भएको त हैन? अभयदाता भएर बस्नु आदरणीय हुनु होइन, तर्छाउनै पर्छ।’

‘हो सर, अमेरिका र चीन परस्परमा जुध्नु हुँदैन भन्न खोज्नु भएको हो कि?’

‘यी मिल्नै परे मिल्छन्। तर म सार्वभौम कुरा गर्दै छु। आफूलाई जस्ता सुकै दाउमा राख्दा कमाएको प्रतिष्ठा र ठूल्याइ नामेट हुनबेर छैन।’

उल्क्याउने पनि त हुन्छन् नि सर, चीन र इण्डियालाई युद्धभूमिमा धकेल्न खोजिएको छैन र? तर कसको सुबुद्धिले हो अझै भिडेका छैनन्। छुच्याइँ छोडेर संयम लिए उन्नति गथ्र्यो, अर्कालाई होँच्याउँदा आफै घट्ने भई इण्डिया।

‘हो, कहिले काँही जुरे साँडेलाई तुजुकदार बहरले पनि फ्याँकिदिन्छ। यो देखेकै हो। राजनीतिका कुरा पनि यही हो–कहिले को बलियो, कहिले को। फेरि दुश्मनी दोस्तीमा तुरुन्तै फेरिन्छ। संयम त लिनै पर्छ।’

‘सर मलाई तपाईंले अमेरिका र रसियाको सन्दर्भ टिपेजस्तो लाग्यो।’

‘सन्दर्भ त जहाँबाट टिपे पनि हुन्छ। तर तिमी राजनीतिक चश्माले किन हेर्छौ? घटनाको स्वतन्त्र मीमांसा हुनसक्दैन? पहलमानका कुस्तीमा राजनीति किन जोड्नु। फेरि हिजो आज कोही राजनीति गर्दैन, न कोही राजनीतिक अर्थ बुझ्छ।’

‘के त हनुमान सिंहको पराजयमा राजनीति छैन?’

‘छ उसको निजी स्वार्थको । समाज र देशभक्ति उसंग जोडिएको छ भन्ने सत्य उसले बुझेन। यही गलत हो। हठ र अहंले उसको पतन भो। कमाएको इतिहास दागी गरायो भन्छु।’

‘जे नहुनु थियो त्यही भयो।’ एउटाले बीचमा बोल्यो।

‘तर विजयश्री त सर्छ नि हैन?’

अर्काले पनि थप्यो। ‘अब चर्चाको विषय नै रहेन। विवेक पुर्याएका भए यत्रो महावली हनुमान सिंहको विजयश्री कायमै हुन्थ्यो। अब इतिहासमा हार नलेखिने होला र? समयले नायक जन्माउँछ भनेको यही हो। विधिवत विश्राम नलिनुको परिमाण हो पराजय । इतिहाँस आफै मेट्यो ।’

अनि ?

‘अनि के, अहिले उसका समर्थक दुखी छन्। कति त विमुख पनि भए। बुुद्धि छोटो भएकै हो। समयको आवाज उस्ले बुझ्नसकेन। हाँसिल गरेको श्रेष्ठता जोगाउन सकेन। शठ रहेछ। उन्माद चढेछ।’

हो, कहिले को ठूलो कहिले को ?

शक्ति, सौन्दर्य र सम्पतिमा तलमाथि हुँदैरहन्छ नि? तर लुटिनबाट जोगिन सीङ जोर्नु र पराश्रित हुनु हुँदैन कि?

‘फेरि राजनीतिक कुरा? प्रसंग बन्द गर।’

हनुमान सिंह अझै अस्पतालबाट निस्केन। उसलाई मनको विमारी लाग्यो भन्ने कुरा संचारले खोल्न थालेको छ।  खेलप्रेमीहरु दुखी देखिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.