व्यंग्य : आफ्नो आङको भैंसी नदेख्ने

डिसी नेपाल
७ फागुन २०७८ ८:१७

बालकोटे कामरेडले दुई दुई पटक सांसदहरुले खाइपाइ आएको जागिर चट् हुने गरी गरेको संसद बिघटनलाई खारेज गर्ने जस्तो पुनित कार्य गरेर र दुवै पटक सांसदहरुको जागिर जोगाउन अघि सरेर अनि आफूले जे गरेपनि हुन्छ भन्नेमा ढुक्क परेर र कति ठाउँमा निकै तल्लो स्तरसम्म झरेर भएपनि नाम र दाम दुबै कमाउने अनि आफ्नो कमाइमा परिवार नातागोता सबै रमाउने ब्यबस्था मिलाउन सक्ने प्रधान न्यायमूर्ति साँच्चिकै कडा ब्यक्ति हुन् भन्नेमा कसैलाई शंका छैन।

त्यसमाथि संविधान अनुसार मिल्ने हो वा होइन कसैलाई थाहा नभएपनि फलानालाई सरकार प्रधान नियुक्त गरेर फलानो मितिको यति बजे सपथ ग्रहण गराउनु भनेर ज्योतिषीले जोखना हेरे जसरी राष्ट्र प्रमुखलाई अराउनु र उनको यो आदेशबाट सबैजना डराउनु अनि सरकार प्रधान बनाउने हाम्रो काम हो भन्ने गठबन्धनवाला सांसदहरु आदेशको पालना गरेर हराउनु ज्यादै राम्रो कार्य हो।

विभिन्न खाले आन्दोलन, मुद्दा, स्वदेश बिदेशतिरपनि हारगुहार गरेर अस्तित्व रक्षा हुने हो कि होइन भनेर छटपटाउने र हामी खत्तम हुन लाग्यौँ लौन हामीलाई बचाउन पर्यो भनेर जतासुकै भटभटाउने गर्दै आएका स्वघोषित महान नेता र कोटेश्वरे कामरेड लगायतलाई ठूलो राहत पुग्नेगरी गठबन्धनको हितमा फैसला गरेर यो संसदीय कार्यावधिमा सपनामापनि सरकार प्रधान बन्न जाइन्छ अनि आफूसँग निकै थोरै वा नगण्य सांसद संख्यामात्रै भएपनि बालुवाटारमा खुट्टा पसारेर बसिबसी खाइन्छ भन्ने आशा कल्पना वा कुनै सोचसमेत नभएका ब्यक्तिलाई भाग्योदय चिट्ठा पारिदिने र सबैभन्दा ठूलो दल हुँदाहुँदैपनि अत्यन्तै चित्त दुख्नेगरी बालकोटेलाई कुर्सीबाट झारिदिने ऐतिहासिक कार्य गरेकै हुन्।

सबै सम्माननीय, माननीय, श्रीमान, हजुर, सर, बिभिन्न ज्यूहरु आदिसँग यतिका बर्षसम्म संगत गर्दा सबैको आन्द्राभुँडी जनताले राम्ररी देखिसकेका हुनाले एकजना प्रधान न्यायमूर्तिलाई महाभियोग लगाएकोमा बेकारको फूर्ति गर्दा जनता हाँसिरहेकोपनि ख्याल गर्दा राम्रो होला।

यो पुनित कार्यमा ठूलो लेनदेन वा भागबन्डा भएको र उनका केही आफन्तहरु सांसद वा अन्य अधिकारी नभएपनि सरकारमासमेत गएको भनेर नचाहिँदो हल्लापनि बिरोधीहरुले चलाए र सपथ ग्रहण गरेर मन्त्रालय छिरिसकेका अनि मन्त्रालयको जिम्मेवारीसमेत भिरिसकेका यिनका भुपू जेठानलाई मन्त्रीबाट ढलाए। यसलाई जनताले चाहिँ पटक्कै मन पराएनन् र कसैलेपनि थमौती गराएनन्। यत्रो गुन लगाएर सबैलाई ठूलो नगद रुपी नुन खाने ब्यबस्था मिलाइ दिएका र भनेभनेका कुर्सी दिलाइ दिएका प्रधान न्यायमूर्तिलाई अहिले यिनै गठबन्धन वालाले महाभियोग लगाएर निलम्बन गरे भनेको सुन्दा धेरैलाई बिश्वास लागेजस्तो देखिँदैन।

ठूलाठूला अभियोग लागेका, तस्कर, भ्रष्टाचारी, बलात्कारी, ज्यानमारालगायतका अपराध गरेर मुद्दा खेपेका र सजायँ पाउनै पर्ने अपराधी भनेर सबैले हेपेका धेरै पैसावाल अभियुक्तहरुका तारणहारको रुपमा रहेका यी प्रधान न्यायमूर्तिले करोडौंको लेनदेन गरेर जित्छ भनेर कसैले कल्पनासमेत गर्न नसकिने मुद्दामा जिताइदिएर धेरैको ठूलो उद्दार गर्दै आएको अहिले सबैजसोलाई थाहा भइसक्यो।

मुद्दाका जन्मजात बिचौलियाहरुको सिन्डिकेटलाई भाइ श्रीमती ज्वाईँ जेठानका साथै आफ्ना नजिकका नातेदारहरुको अति राम्रो प्रयोगद्वारा निष्क्रिय पारेर र आफन्तमार्फत भनेजति माल झारेर कानुन न्याय जस्ता शब्दहरुलाई धोती लगाइ दिएर आफूखुसी अचम्म र उदेकलाग्दा फैसलाहरु गर्दै सधैं चर्चामा रहेपनि यसपाली जत्तिको यिनको चर्चा कहिल्यै भएन।

यिनीभन्दा अगाडिका केही प्रधान न्यायमूर्तिहरुमा कोहि धेरै पटक उमेर सच्याएर, कोही नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर, कोही घुस खाएर, कोही आचरण र नैतिकतामा प्रश्न चिन्ह लागेर वा अरु यस्तैयस्तै कारणहरुबाट एकसेएक तरिकाले चर्चित नभएका भने होइनन्। त्यति भएरपनि बिचौलियाका मसिहाहरुलाई सन्तुलनमा राखेर र उनीहरुमार्फत प्राप्त नगद चाखेर काम चलाएको अनि बिरोध गर्नसक्नेहरुलाई गलाएको देखिएकोमा यिनले त्यस्ता सबै बिचौलियाहरुको आमदानी सुक्खा पारेको र सबै नगद आफ्नै पोल्टामा झारेको हुनाले बिचौलियाहरु रिसाएर यस्तो अबस्था आएको हो भन्ने धेरैलाई लागेको छ।

सिसाको घरमा बसेर अरुलाई ढुंगा नहान्नु र मुद्दा पैmसला गरेबापत आउने सबै रकम एक्लै नतान्नु भन्ने पुरानाहरुको अर्ति उपदेश नमान्नु अनि तलदेखि माथिसम्म बाँडचुँड गर्न नजान्नु नै यो महाभियोगको खास कारण हो भन्ने धेरैजना भएपनि जनतालाई चाहिँ त्यति पत्यार लागेको छैन।

श्रीमती छोरा भाइ भतिजा ज्वाईँ जेठान र गर्लफ्रेन्ड आदि बाहेक अरुका हातमा नगद दिनै नजान्ने र यी बाहेक अरुबाट केही लिनै नमान्ने खानदानी बानिलेपनि यिनलाई अप्ठ्यारो पारेको हुनसक्छ। त्यही भएर बारका पदाधिकारीहरुले बिचौलियाको नाइके भन्ने उपाधि दिँदापनि यिनले चुप लागेर पचाए र जसले जस्तोसुकै गाली वा लान्छना लगाएपनि लाज घिन शरम जस्ता शब्दहरुलाई भुल्दै हाँसिहाँसि हात परेजति नगद बचाए।

अरु न्यायमूर्ति र प्रधान न्यायमूर्तिहरुलेपनि यिनले जति वा यिनको हाराहारीमा नकमाएका र नगदसँग साटेर फैसला नजमाएका त होइनन् तर यिनको कुरा अरुभन्दा अलि बेग्लै भएजस्तो अनि बिचौलियाको पगरी थामिरहेका विद्वान वकिलहरुको पगरी खोसिएको हुनाले यिनी बिरुद्ध आन्दोलन झोसिएको हो कि भन्नेहरुको मुख थुनेर साध्य छैन।

कानुनको पढाइ सकेर लाखार लुखुर खाले कानुन ब्यबसाय गर्दै बसेका र कानुनी कर्मचारीको रुपमा महानगर पालिकामा पसेका सामान्य आर्थिक हैसियतका ब्यक्ति अचानक पुनराबेदन अदालतको न्यायमूर्तिमा नियुक्त भएर करिब साँढे दुई बिस बर्षको अबधिमा प्रधान न्यायमूर्ति भएर अरबौँको सम्पत्ति जोड्नु, आफू लगायत घरतर्फ ससुरालीतर्फ र अन्य नजिकका नातेदार तर्फका सबैको आर्थिक हैसियत करोड अरबको स्तरमा मोड्नु, न्याय क्षेत्रमा सुनिएका भ्रष्टाचारको कीर्तिमानलाई एकलौटी तोड्नु र नाम चलेका एकसेएक भ्रष्टाचारीहरुलाई धेरै पछाडि छोड्नु भनेको चानचुने कुरा होइन।

एउटा सामान्य खाइजिविका वाला कानुन ब्यबसायीले यति छोटो अवधिमा यति ठूलो प्रगति गरेर देखाएपछि कतिपय भबिष्यका कर्णधारहरुले कानुन बिषय पढ्ने, यसैगरि धेरै माथिल्लो तहसम्म सिक्वेन्स मिलाएर छोटो समयमा फास्टट्रयाकबाट माथिमाथि चढ्ने र आर्थिक रुपमापनि अग्रगामि छलाङ हानेर अघि बढ्ने सोच राखेको पाइएको छ। भबिष्यका कर्णधारहरुको यस्ता रोलमोडललाई गरिएको कारबाही र उनी बिरुद्ध छरिएको हल्लामा उनिहरु ज्यादै दुखी भएका छन् रे भन्नेपनि सुनिन्छ।

न्यायमूर्ति र प्रधान न्यायमूर्तिहरुलेपनि यिनले जति वा यिनको हाराहारीमा नकमाएका र नगदसँग साटेर फैसला नजमाएका त होइनन् तर यिनको कुरा अरुभन्दा अलि बेग्लै भएजस्तो अनि बिचौलियाको पगरी थामिरहेका विद्वान वकिलहरुको पगरी खोसिएको हुनाले यिनी बिरुद्ध आन्दोलन झोसिएको हो कि भन्नेहरुको मुख थुनेर साध्य छैन।

हिजोसम्म फाटेको चप्पल चार ठाउँमा सिलाउँदै, बिहान बेलुकाको भोक टार्न ठगठाग सहितका अनेक चाँजो मिलाउँदै र दश ठाउँ पुगेर कपाल चिलाउँदै अनेक भनाइ खाएर अर्काका छिँडी र मटानहरुमा रात गुजार्ने नेताहरु अहिले आलिशान महलमा पाँचतारे सुबिधासहित बस्ने हैसियतमा पुगेजस्तै भनेपनि हुन्छ। यसैलाई हेरेर धेरै युवाहरु सुखसयल ऐशोआरामको लागि राजनीतिमा लागेका र केके न गर्छु जस्तो गरेर जागेका हुन् भन्ने कुरा पत्याइसक्नु छैन।

सबैतिर चाँजोपाँजो मिलाएर कहिँकतै भाँजो नहालिकन उक्लनु ज्यादै राम्रो भएपनि सेवा अबधि बाँकि हुँदैमा महाभियोगबाट फुक्लनु दुखद कुरा हो। संबैधानिक प्राबधानमा पुरै आँखा चिम्लिएर गठबन्धनका नेताहरुलाई सत्तारोहणको सुअवसर दिनु र त्यस बापत केही भागबन्डा लिनु के नौलो भयो र? यिनले यति छिटो यति धेरै प्रगति गर्नु अनि अरबौँमा चर्नुमा गठबन्धनलगायत सबै शिर्ष नेताहरुको उत्तिकै हात हुनपर्छ।

सरकार प्रधान र प्रतिपक्षी दलका नेताको मुख्य निर्णायक भूमिका हुने परिषदले छनौट र नियुक्ति गर्ने सबै पदहरुमा दलगत भागबन्डा र लेनदेन बिना नियुक्ति नै हुँदैन रे भन्ने बजारे हल्लाको पछाडि लागेर साध्य नै छैन। जसले ठूलो सुनको अन्डा बुझायो भागबन्डामा उसैको नाम आउँछ रे भन्ने धेरैतिरबाट सुनेपनि झ्याप्प पत्याइहाल्ने कुरै आएन।

प्रधानसहितका न्यायमूर्तिहरु, राजदूतहरु, सचिवहरु, बिभिन्न आयोगका अध्यक्षहरु र सदस्यहरु, बिभिन्न राजनैतिक नियुक्तिहरु आदिमा जान र त्यसमा बसेर खान इच्छा गर्नेहरुले माग अनुसारको भाग छुट्याएर नबुझाइ कुनैपनि नियुक्तिमा आश गर्नु बेकार हो भनेको साँच्चै नै हो कि भन्ने यस्तै कहिलेकाहिँ हेर्न देख्न र सुन्न पाइने अद्भुत घटनाहरुबाट बुझिन्छ।

जतिसुकै योग्य उम्मेदवार भएपनि पाइलै पिच्छे नबुझाइकन केही नपाइने पक्का भएकोले यसरी कोही कोहीले सबैलाई धक्का दिने हुन्। यो घटनापनि आफैंमा एउटा दुर्लभ घटना हो। माकुराले आफ्नैमाउ खाएजस्तो आफ्नो दाउ लागिसकेपछि वास्तबिक अन्नदाताको कुनै भाउ नराखी अब लौ खाउ भनेर महाभियोग लगाएको अलि मिलेन कि? राजनीतिमा गुन बैगुन भन्ने केही हुँदैन खाली स्वार्थ मात्र हुन्छ र स्वार्थ पूरा भएपछि र परिस्थिति आफ्नो हातमा गएपछि कसैको गुन कसैले सम्झँदैन भनेको सही नै रहेछ।

यो त चुनावमा भोट दिएर जिताउने जनतालाई पाँच वर्षसम्म मान्छेको गिन्तीमा राख्दै नराखि पाँच वर्ष पछि फेरि भोटको लागि बिन्ती बिसाउन आएबाटै छर्लँग हुन्छ।
सबै बिचौलियाहरुको जालोलाई बेकम्मा पारेर त्यो जिम्मेवारीपनि प्रधान न्यायमूर्तिले भिरेको र मुद्दामा नगद आउने जति सबै छिद्रहरुमा आफैं छिरेको भनेर एकलौटी बिचौलियाको भूमिकामा रहेका वकिलहरु रिसाउनु स्वाभाबिकै हो।

मुद्दाको पेशी तोक्ने र अरुलाई सुइँको नै नदिइ आएको रकम एक्लै ठोक्ने गर्दा अरु न्यायमूर्तिहरु रिसाउने भइहाले। त्यसैले जेठानलाई मन्त्री बनाएकोलगायतका भागबन्डा काण्डहरु सतहमा आएपछि त्यहीँका सबैजना आन्दोलित भएर प्रधान न्यायमूर्तिको राजीनामा मागेका हुन्। उनको राजीनामा मागिएकोमा चिठ्ठामा पाएको मन्त्री पदबाट जेठानले राजीनामा दिनुपनि बिरलै घटनाहरु मध्येको एउटा घटना हो।

जसको मागिएको हो उसले नदिने जसको मागिएको छैन उसले राजीनामा दिएर मन्त्री पदपनि नलिने, अचम्मै भयो। बार र अदालतमा यिनको बिरुद्ध आन्दोलन भएपछि कहिले कुन ढोकाबाट कहिले आन्दोलनकारीहरुलाई झुक्याउँदै कताकताबाट लुक्दै छिप्दै लुसुक्क कार्यालयमा पुगेर अदालत चालु रहेको नौटंकी गर्‍याे अनि खाजा खाइसकेर आजको दिन टर्यो भन्दै खुसुक्क भागेर प्रधान न्यायमूर्ति घर गएको दृश्य यसअघि कहिल्यै देख्ने सौभाग्य नपाएका र यस्तो हेर्न कतै नधाएका जनता समेतले सित्तैमा धेरै मनोरन्जन गर्न पाए।

कार्यपालिका न्यायपालिका र ब्यबस्थापिकाको साथै यससँग जोडिएका सबै अंगहरुमा महाभियोग लगाउन पर्ने महानुभावहरुको संख्या खोजी गर्ने हो भने कम्तिमापनि नब्बे प्रतिशत त्यस्ताहरु पर्ने पक्का छ। त्यही भएर कसैलेपनि आफू चोखो छु भनेर धाक लगाउँदै नाक फुलाउने र एकअर्काको पोल खुलाउने जरुरी देखिन्न।

अरुको आङको सबैथोक देख्ने आफ्नो आङको भैंसी नदेख्ने एकथरि खोजकर्ताहरुले यिनले खरिद गरेका घरजग्गामात्रै हेरेर करिब एक अरब अतिरिक्त आमदानी गरेको र त्यतिमामात्रै मजाले चरेको अपुरो र अधुरो रिजल्ट निकालेछन्।

हिरा सुन र नगदका साथै अन्य बिश्वासिला मानिसहरुका नाममा राखेका घरजग्गाहरुको हिसाब ननिकालेर यति ठूलो बेइज्जत गरिदिँदा यिनले कति चित्त दुखाए होलान् र यही फाइनल सम्पत्ति बिवरण हो भन्ने एकिन भयो भने आफ्नो इज्जत माटोमा मिलाएको अनि त्यस्ताको गर्धन चिलाएको भन्ने सम्झेलान् भन्नेपनि हेक्का राखिदिएको भए राम्रो हुन्थ्यो होला। यति धेरै कमाउने र आफ्नो कमाइमा रमाउने मौका पाउने ब्यबस्था यिनले यिनै गठबन्धन र प्रतिपक्ष भनिनेहरुका शिर्ष नेताहरुलाई कमाइको राम्रै हिस्सा बुझाएर मिलाएका हुन् भन्नेपनि सबैलाई थाहा छ।

चाहे बमोजिम नगद आफ्नो खल्ती भित्र पसेपछि जस्तो गल्ती गरेपनि आँखा चिम्लेर नियुक्ति दिने शिर्ष नेताहरुको अति राम्रो र दयालु बानी बेहोरालाई राम्ररी चिनेका यिनले सबैलाई यथोचित नगदले किनेका हुनाले सोह्रै खत माफ गरेर राम्रालाई साफ गर्दै यिनले हरेक नियुक्ति सहजै पाएका र त्यहाँ बसेर मजाले खाएका रहेछन् भनेजस्तो बुझिन्छ। यिनी न्यायमूर्ति भएदेखि र सामान्य कानुन ब्यबसायीबाट त्यता गएदेखि अहिलेसम्म यिनले कुनै राम्रो, नमुना हुनसक्ने, भबिष्यमा अरुले अनुकरण गर्न योग्य, कानुन अनुसार ठिक हो भन्न मिल्ने, न्याय सम्मत खालको आदि भन्ने जस्ता एउटै फैसला गरेको देखेको सुनेको एकैजनापनि भेटिँदैन।

यिनका फैसलाहरु उट्पट्याङ खालका, सुन्दै अचम्म लाग्ने, हाँस्यास्पद, नियम कानुनको छेउटुप्पो नमिल्ने, धेरै बर्षसम्म ठट्टाको बिषय बन्नसक्ने खालका आदि आदि छन् भन्ने सबै सर्बसाधारणदेखि शिर्ष तहका नेतासमेत सबैलाई थाहा हुँदाहुँदैपनि यिनी खुरखुरु माथिमाथि चढ्दै र बिना बाधा अड्चन लुरुलुरु प्रधान न्यायमूर्तिसम्म पुगेर अझै हाकाहाकी त्यही तरिकालाई कायम राख्दै फैसला गर्दै अनि बिचौलियामार्फत ठूलो नगदको थुप्रोमा चर्दै सबैलाई चुनौती दिनसक्नु चानचुने बिषय होइन। यसको मतलब सबै शिर्षहरुलाई यिनले यथेष्ट नगद बाँडेका र सबैले त्यसमा मजैले मुख गाडेका छन् भनेर बुझ्न अप्ठ्यारो मानिराख्न पर्दैन।

आफूलाई तोकिएको र गर्नै पर्ने काम नगरेको वा गर्न नसकेको, पद अनुसारको आचरण प्रदर्शन गर्न नसकेको, भ्रस्टाचार ब्यभिचार लोभलालच आदि गरेको, कानुनले बन्देज गरेको कामहरु गरेको, आफैं वा बिचौलियाहरुमार्फत उठ्तीपुठ्ती गरेको,गैर कानुनी कार्य गरेको, फौजदारी कानुन आकर्षित हुने गतिबिधिमा संलग्न भएको आदि कारणहरु देखाएर वा अभियोगको रुपमा लेखाएर साँच्चैको महाभियोग लगाउने र त्यस्तालाई पदबाट भगाउने हो भने राष्ट्रको सर्बोच्च पददेखि लिएर तलसम्म को चाहिँ बाँकि रहन्छ होला र? सबै सम्माननीय, माननीय, श्रीमान, हजुर, सर, बिभिन्न ज्यूहरु आदिसँग यतिका बर्षसम्म संगत गर्दा सबैको आन्द्राभुँडी जनताले राम्ररी देखिसकेका हुनाले एकजना प्रधान न्यायमूर्तिलाई महाभियोग लगाएकोमा बेकारको फूर्ति गर्दा जनता हाँसिरहेकोपनि ख्याल गर्दा राम्रो होला।

कसैलाई कानुन अनुसार कारवाही गरेर देखाउने नैतिक हैसियत ठ्याम्मै नभएका ठूलाठूला पदमा रहेका महानुभावहरुले झ्याम्मै महाभियोग लगायौँ भनेर धाक नलगाएकै राम्रो। यतिका महिनासम्म अदालत र न्याय क्षेत्रको गाइजात्रे रमिता देखेर अन्तर्राष्ट्रिय जगतपनि आजित भइसकेर र देशकै प्रतिष्ठा धेरै तल गइसकेर बिजोग भएपछि डराइडराइ र केके न गरियो भनेर कराइकराइ महाभियोग लगाएर सेफ ल्याण्डिङ गराइएको अनि चुप लागेर बस्नु अबकाश हुने बेलासम्म केही हुँदै भनेर घरमा बस्न अराइएको र उनलाई धेरै छानबिन गर्दा आफ्नापनि कतिपय पोल खुल्लान् भनेर डराइएको त पक्कैपनि होइन होला भन्ने जनताको सोचाइ छ।

कार्यपालिका न्यायपालिका र ब्यबस्थापिकाको साथै यससँग जोडिएका सबै अंगहरुमा महाभियोग लगाउन पर्ने महानुभावहरुको संख्या खोजी गर्ने हो भने कम्तिमापनि नब्बे प्रतिशत त्यस्ताहरु पर्ने पक्का छ। त्यही भएर कसैलेपनि आफू चोखो छु भनेर धाक लगाउँदै नाक फुलाउने र एकअर्काको पोल खुलाउने जरुरी देखिन्न। आफूसित पद दर्जा र ओहोदा अनुसारको क्षमता योग्यता नैतिकता आत्मबल आदि भइदिएको भए यो महाभियोगको लागि यति लामो अवधी कुर्नै पर्दैनथ्यो होला।

मलाई चलायौ भने बुढानिलण्ठे सभापति, स्वघोषित महान नेतासमेतको नामले चर्चित खुमलटारे कामरेड, स्वघोषित नैतिकवानसमेत भनिने कोटेश्वरे कामरेड र गठबन्धनका नेताहरुले केके भनेका थिए सबैको पोल खोलिदिन्छु र हामी बीच भएका सबै कुरा जनताका अगाडि बोलिदिन्छु भनेपछि सबैजना थर्केको अनि मुखामुख गरेर अन्तैतिर फर्केको भन्ने हल्ला धेरै अघि नै जनताले सुनिसकेका हुनाले केही नौलो भएन। त्यही भएर अरुको आङको जुम्रा देख्ने आफ्नो आङको भैंसी नदेख्नेहरुको बिषयमा धेरै चर्चा गरेर समय खर्चनुको कुनै अर्थ छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *