पाकिस्तान सरकारभित्र भारतका विषयमा सकारात्मक धारणा
काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानका वाणिज्य, टेक्सटाइल उद्योग, लगानी र उत्पादन मामिलाका सल्लाहकार अब्दुल रजाक दाउदले भारतसँग व्यापार दुवै देशको हितमा रहेको बताएका छन् । आइतबार रजाकले भनेका थिए कि रुस पाकिस्तानमा निर्माण र पाइपलाइनमा लगानी गर्न चाहन्छ ।
पाकिस्तान व्यापार विकास निगमको तर्फबाट आयोजित इन्जिनियरिङ एण्ड हेल्थकेयरको एक प्रदर्शनीमा मिडियासँग कुरा गर्दै रजाकले भने ‘वाणिज्य मन्त्रालय भारतसँग व्यापार गर्न चाहन्छ । मलाई लाग्छ भारतसँग व्यापार खोल्नुपर्छ ।’ पाकिस्तानको अंग्रेजी अखबार डनले यो समाचारलाई प्रमुखताका साथ स्थान दिएको छ । अब्दुल रजाकले भारतका विषयमा भनेको कुराको भिडियो सामाजिक संजालमा पनि शेयर गरिएको छ ।
डनका अनुसार रजाकले भारतसँग व्यापार सबैका लागि फाइदाजनक भएको बताउँदै खासगरी पाकिस्तानको लागि लाभदायक भएको बताए । रजाकले आफूले भारतसँग व्यापार सुरु गर्ने कुराको समर्थन गर्ने बताए । पाकिस्तानले ५ अगष्ट २०१९ पछि भारतसँग द्विपक्षीय व्यापार बन्द गर्ने निर्णय गरेको थियो र त्यतिबेलादेखि व्यापार बन्द छ । ५ अगष्ट २०१९ मा भारतले जम्मु कश्मिरको विशेष दर्जा अन्त्य गरेको थियो ।
यसअघि पाकिस्तानका अर्बपति व्यवसायी मियां मोहम्मद मंशाले पनि भारतसँग व्यापार सुरु गर्नुपर्ने बताएका थिए । यही महिना ३ फेब्रुअरीमा मियां मोहम्मद मंशाले भनेका थिए ‘यदि पाकिस्तानको अर्थव्यवस्था सही ट्रयाकमा आएन भने यसको नतिजा भयावह हुनेछ ।’ उनले भारतसँग व्यापारिक सम्बन्ध सुधार गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
मियां मोहम्मद मंशाले भनेका थिए ‘युरोपमा २ भयावह युद्ध भए तर शान्ति र क्षेत्रीय विकासको लागि सबै एक भए । कसैसँग स्थायी दुश्मनी हुन सक्दैन ।’ मियां मोहम्मद मंशाको यो बयानपछि भारतमा पाकिस्तानका उच्चायुक्त रहेका अब्दुल बासितले भनेका थिए ‘उनी व्यापारी हुन् र नयाँ बजारको खोजीमा उनको बयान आश्चर्यजनक होइन ।’
अब्दुल बासितले भनेका थिए ‘पाकिस्तानमा एउटा वर्ग छ जसले भारतसँग तनावका कारण पाकिस्तानलाई आर्थिक नोक्सानी भइरहेको मान्छ । तर म यससँग सहमत छैन । मेरो मान्यता छ कि हाम्रो अर्थव्यवस्था ठिक नहुनुको कारण भारतसँग सम्बन्ध सही नहुनु होइन । म मान्छु हाम्रा आन्तरिक कारणहरु छन् जसका कारण अर्थव्यवस्था ठिक छैन ।’







डिसी नेपाल







Facebook Comment