‘युरोभिजन सङ कन्टेस्ट’मा रुसमाथि रोक
काठमाडौं। युरोपियन ब्रोडकाष्टिङ युनियन(इबीयू) ले आयोजना गर्दै आएको ‘युरोभिजन सङ कन्टेस्ट’ मा यस वर्ष रुसलाई सहभागितामा रोक लगाएको छ । इबीयूले रुसलाई प्रतियोगितामा सहभागी गराउनु भनेको ‘युक्रेनमा देखिएको अभूतपूर्व संकट’लाई थप प्रोत्साहन गर्नुजस्तै रहेकाले हालका लागि रुसलाई रोक लगाइएको जनाएको छ ।
गत बिहीबारदेखि रुसले छिमेकी मुलुक युक्रेनमा आक्रमण गरेपछि पश्चिम मुलुकका सरकारहरुले रुसमा अन्तर्राष्ट्रिय प्रतिबन्धलाई बढाउँदै लगेका छन् ।
२४ घण्टाअघि मात्र इबीयूले रुसलाई प्रतिष्पर्धामा सहभागिता जनाउन दिने निर्णय लिएको थियो । तर २४ घण्टा नबित्दै इबीयूले आफ्नो निर्णयलाई परिवर्तन गरेको हो । रुसले युक्रेनमा आक्रमण गरेपछि त्यसको विरोध स्वरुप रुसको राजधानी मस्कोमा हुने च्याम्पियन्स लिगको फाइनललाई फ्रान्सको पेरिसमा सारिएको थियो ।
यसैसाता मात्र युक्रेनियन ब्रोडकास्टर यूएःपीबीसीले इबीयूलाई रुसलाई युरोभिजन सदस्यताबाट हटाएर उसलाई प्रतिष्पर्धामा प्रतिबन्ध लगाउन माग गरेको थियो । इबीयूका सदस्यहरु आइसलेण्ड, फिनल्याण्ड, नर्वे र नेदरल्याण्डले पनि युक्रेनको प्रस्तावमा सहमति जनाएका थिए । फिनल्याण्डले रुसले सहभागिता जनाए आफूले कुनै पनि प्रतिनिधिलाई प्रतिष्पर्धामा नपठाउने चेतावनी दिएको थियो ।
सन् २०२१ को संस्करण इटालियन रक ब्याण्ड ‘मानेस्किन’ले जितेपछि ६६ औं संस्करणको ‘युरोभिजन’ टुरिनमा हुँदैछ । रुसले यसपटकको संस्करणमा सहभागिताको विषयमा अहिलेसम्म केही भनेको छैन ।







डिसी नेपाल








Facebook Comment