बेलायती सेनामा कार्यरत १९ वर्षका जवान युक्रेन जानका लागि ब्यारेकबाट भागे
काठमाडौं। बेलायती सेनाको कोल्डस्ट्रिम गार्डसम्यानका रुपमा कार्यरत १९ वर्षका एक किशोर युक्रेनको तर्फबाट रुसी सेनासँग लड्नको लागि आफ्नो ब्यारेकबाट भागेर हिँडेका छन् । उनको ड्युटी बेलायती महारानी एलिजाबेथ द्वितीयलाई सुरक्षा दिनु थियो । १९ वर्षका यी सैनिकले आफ्ना अभिभावकको लागि एउटा नोट लेखेर विंडसर क्यासलको ब्यारेकमा छोडेर पूर्वी युरोपको लागि एकतर्फी हवाइ टिकट बुक गरेको द सनले जनाएको छ ।
रक्षा अधिकारीहरुले उनलाई रोक्ने प्रयास गरिरहेका छन् किनकि उनी समातिएको खण्डमा रुसले युद्धमा बेलायत प्रवेश गरेको आरोप लगाउन सक्छ किनकि उनी बेलायती सैनिक हुन् । सेनाको स्रोतले यी किशोर बिना सूचना ब्यारेक छोडेर गएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बेलायती सेनाका शीर्ष अधिकारीहरुले यी किशोरबाहेक विदामा रहेका अन्य सैनिकहरु पनि युक्रेनमा युद्ध लड्न गएको हुन सक्ने आशंका गरेका छन् ।
बहालवाला सैनिक यसरी युक्रेनमा लड्न भनेर गएको पुष्टि भएको यो पहिलो घटना हो । यसअघि अवकाश पाइसकेका सैनिकहरु मात्र युक्रेन गएका थिए । यसरी बहालवाला सैनिक नै लडाइँमा जाँदा यदि उनीहरु समातिए भने रुसले बेलायत युद्धमा प्रवेश गरेको आरोप लगाउन सक्ने र यसले ठूलो जोखिम उत्पन्न गर्न सक्ने त्रास बढेको छ ।
यी किशोरले ब्यारेकमा आफ्ना अभिभावकको लागि एउटा पत्र छोडेका थिए र पोल्याण्डसम्मको लागि वन वे टिकट किनेका थिए । त्यसपछि उनले अहिलेसम्म आफ्नो जुत्ताको फोटो मात्रै स्न्यापच्याटमा पोस्ट गरेका छन् । उनका साथीहरुले यो फोटोले उनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको रक्षा बलमा मिसिन सफल भएको संकेत गरेको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment