सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको निधन
वाशिङ्टन (बीबीसी) । आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका पहिलो व्यक्तिको मृत्यु भएको छ। ज्यान लिने खालको मुटुको रोग लागेका डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरेको दुई महिनापछि उनको निधन भएको हो।
उनको स्वास्थ्यस्थिति केही दिन अघिदेखि बिग्रिएको बाल्टिमोरस्थित उनका चिकित्सकले बताएका छन्। सन्ताउन्न वर्षीय बेनेटको मङ्गलवार मार्च ८ मा निधन भएको हो। शल्यक्रियाअघि नै बेनेटलाई प्रत्यारोपणसँग सम्बन्धित जोखिमबारे थाहा थियो।
उनले त्यसलाई स्वीकार गर्दै “यो अँध्यारोमा हानिएको गोली हो” भनेका थिए। यूनिभर्सिटी अफ मेरील्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो।
बेनेटमा मानव मुटु प्रत्यारोपणका लागि अयोग्य थिए र प्रत्यारोपण नहुँदा उनको मृत्यु हुने थियो। त्यसैलाई आधार मानेर त्यस्तो छुट दिइएको थियो। शल्यक्रियाअघि उनी छ साता ओछ्यानमा विशेष उपकरणको सहायतामा बसेका थिए।
मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो। उनको गत ज्यानुअरी ७ मा शल्यक्रिया गरिएको थियो र केही सातापछि चिकित्सकहरूले उनले आफ्नो परिवारसँग समय बिताएको बताएका थिए। तर चिकित्सकहरूलाई निराश पार्दै उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो।
“उनले साहसी र भद्र बिरामी भएको प्रमाणित गरे र सबै हिसाबले अन्तिमसम्म लडे,” शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले भनेको अस्पतालद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ। उनले बेनेटको शल्यक्रिया गरेका थिए।
बेनेटका छोरा डेभिड जुनिअरले समाचारसंस्था एपीलाई आफ्ना पिताको प्रत्यारोपण “आशाको सुरुवात भएको र त्यो नै अन्त्य नहुने” आफ्नो अपेक्षा रहेको बताएका छन्। ग्रिफिथले पहिले उक्त शल्यक्रियाले प्रत्यारोपणका लागि मानवअङ्गको अभावलाई कम गर्ने बताएका थिए।
अमेरिकामा मात्र हरेक दिन प्रत्यारोपण कुर्दाकुर्दै १७ जनाको निधन हुने गर्छ। माग पूरा गर्न जनावरको अङ्ग प्रयोगको सम्भावनाबारे लामो समयदेखि विचार गरिँदै आएको हो र सुँगुरको मुटुको भल्भ प्रयोग गर्ने विषय सामान्य भइसकेको छ।
सन् २०२१ को अक्टोबरमा न्यूयोर्कस्थित शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए। त्यतिबेला उक्त शल्यक्रिया सबैभन्दा विकसित प्रयोग थियो। यद्यपि त्यस बेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने कुनै आशा थिएन।







डिसी नेपाल







Facebook Comment