कुलमानको उज्यालो अभियानको कथा बताउने राजको ‘बादलहरु’

डिसी नेपाल
२७ फागुन २०७८ ११:२८
180
Shares

काठमाडौँ। उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने संगीत मानव सुवेदीले तयार गरेका हुन्।

नेपाली टचको प्रस्तुतिको रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिएका थिए। कार्यक्रममा बोल्दै गायक शिव परियारले आफूले धेरै कुरा बताउने गीत गाए पनि विकासको गीत गाउने संगीत पहिलो पल्ट हेरेको धारणा राखेका थिए।

‘म आफैँले पनि जीवनमा धेरै भाव र जीवन अभिव्यक्त गर्ने गीत गाएको छु। तर विकासको पनि गीत हुन सक्नेरहेछ भन्ने कुरा यो गीत हेरेपछि महसुस गरेँ,’उनको भनाइ थियो।

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ। कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ। सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन्।

अभिनेता राजेश हमालले अष्ट्रेलियामा नियमित कार्यक्रम गर्ने नेपाली टचसँग आफ्नो पुरानो नाता रहेको जानकारी गराउँदै समाज र कलाबीचमा लेनदेनको गज्जबको सम्बन्ध हुने यथार्थ उद्घाटन गरेका थिए। ‘कलाले यो समाजबाटै प्रेरणा लिन्छ र समाज प्रेरित यही कथाबाट हामी थप प्रभावित हुन्छौँ’ हमालको भनाइ थियो, ‘कुलमानजीको वास्तविक भिडियोले यो गीत र भिडियो सिर्जना भयो । हामी यो भिडियो हेरेर प्रभावित भयौँ।’ उनले भिडियोमा गायनसँगै अभिनयमा पनि डेब्यु गरेका गोस्वामी र सुरक्षा पन्तको पनि अभिनयको प्रशंसा गरेका थिए। गीतकार, लेखक र अभिनय गरी तीन विधामा जोडिएकी सुरक्षा पन्तले गीतको भिडियोले तीन वटा विम्बलाई प्रस्तुत गर्ने जमर्को गरेको जानकारी दिइन्।

सुरक्षाका अनुसार भिडियोभित्र आफ्नो चरित्रले नेपाल आमाको प्रतिनिधित्व गर्ने र घनु जोशी र राज के गोस्वामीले निर्वाह गरेको चरित्रले नेतृत्व र भविष्यको अर्थ अभिव्यक्त गरेको छ। उनले कुलमान घिसिङले कुनै गाउँमा जनतालाई बिजुलीको महत्व सम्झाउँदै गरेको भिडियोबाट प्रेरित भएर नै भिडियोको खाका बनेको जानकारी गराएकी थिइन्।

‘मैले उहाँको भिडियो हेरेकी थिएँ जहाँ हाम्रो चरित्रले खोजेजस्तै अवरोध उहाँले खप्नु भएको थियो। एक अर्थमा भन्ने हो यो भिडियो उहाँजस्तै कुशल नेतृत्वकर्तालाई ट्रिब्युट हो’ सुरक्षाले भनिन्।

कुलमान घिसिङले आफ्नै पेशालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुसी लागेको बताए। उनले भिडियोमा देखाए जस्तै आफूले बिजुलीको महत्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै आफू नेपालको कुनाकुनामा बिजुली पुर्याउन दत्तचित्त रहेको बताएका थिए । कुलमानले ९५ प्रतिशत जनताको घर आँगनमा बिजुली पुग्न लागेको पनि जानकारी गराएका थिए।

गायक राजले भने आफूलाई गायकको रुपमा भन्दा पनि संगीतप्रेमीको रुपमा चिनाउन मन पराउने बताउँदै आफ्नो स्वर सुहाउँदो गीत भएकाले गाउने चेष्टा गरेको बताए। निर्देशक मानव सुवेदीले देखिरहेको क्यानभासमा आफूलाई फरक कथा भन्ने रुचि लाग्ने र ‘बादलहरु’को भिडियोमा पनि आफूहरुले देखे सुनेकै कथा प्रस्तुत गरेको बताएका थिए।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतलाई सुशील सापकोटाले छायांकन गरेका हुन् भिडियोको सम्पादन मानव स्वयंले गरेका हुन्।

भिडियाे


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *