रुसले चीनसँग सैन्य सहयोग माग्यो, चीनले सहयोग गर्न सक्ने
काठमाडौं। युक्रेनसँग जारी युद्धका बीच रुसले चीनसँग सैन्य सहयोग मागेको केही मिडिया रिपोर्टमा दावी गरिएको छ । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार रुसले चीनसँग सैन्य सहयोग र आर्थिक सहयोग मागेको छ । रुसले युक्रेनमा आफ्नो लागि चीनले सैन्य सामग्री आपूर्ति गरिदेओस् भन्ने चाहन्छ ।
फाइनान्सियल टाइम्सले एक अमेरिकी अधिकारीको हवाला दिँदै रुसले आक्रमणको सुरुवातदेखि नै चीनलाई सैन्य उपकरणका लागि अनुरोध गरिरहेको उल्लेख गरेको छ । यद्यपि ती अधिकारीले रुसले कस्ता किसिमका उपकरण मागिरहेको थियो भन्ने बताएनन् । रिपोर्टका अनुसार चीनले यो मामिलामा रुसलाई सहयोग गर्न सक्ने संकेत पनि देखिएको छ ।
न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीहरुको हवाला दिँदै लेखेअनुसार रुसले आफूमाथि लागेको आर्थिक प्रतिबन्धको प्रभावलाई कम गर्नको लागि आर्थिक सहायताको माग गरिरहेको छ । युक्रेनमा रुसको आक्रमणमा चीनले अहिलेसम्म आफूलाई तटस्थ देखाउने प्रयास गरिरहेको छ तर यो आक्रमणको निन्दा भने गरेको छैन ।
सोमबार अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र शीर्ष चिनियाँ विदेश नीति अधिकारी यांग जिएशेबीच रोममा भेटवार्ता हुन सक्छ । एनबीसीसँग आइतबार कुरा गर्दै सुलिभानले भने ‘अमेरिकाले यो सुनिश्चित गर्नेछ कि रुसको आर्थिक नोक्सानीको भरपाइ चीन वा अन्य कुनै देशले नगरुन् ।’







डिसी नेपाल







Facebook Comment