अमेरिकालाई साउदी अरब र युएइको चुनौती
काठमाडौं। केही वर्ष पहिलेसम्म मध्यपूर्वमा अमेरिका ठूलो शक्ति थियो । खाडीका सबै देश अमेरिकाको नेतृत्वमा लामबद्ध रहन्थे । तर, अहिले स्थिति पूर्ण रुपमा बदलिएको छ । इरान त १९७९ को इस्लाकि क्रान्तिपछि नै अमेरिकाविरुद्ध छ । अब साउदी अरेबिया र युएइले पनि अमेरिकालाई चुनौती दिइरहेका छन् । स्थिति यहाँसम्म छ कि साउदी अरब र युएइको नेतृत्वले अमेरिकी राष्ट्रपति जो बाइडेनको फोनसमेत उठाइरहेका छैनन् ।
रुस युक्रेन युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढिरहेको छ । यसको असर विश्वका सबै देशमा परिरहेको छ । अमेरिकाले इन्धन तेलको प्रमुख उत्पादक रुसमाथि कडा प्रतिबन्ध लगाएको छ । यसका लागि अमेरिकाको प्रशंशा त भइरहेको छ तर अमेरिका आफैंले यसको गम्भीर परिणाम भोग्नु परेको छ । अमेरिकाले तेलका दुई प्रमुख उत्पादक साउदी अरेबिया र युएइलाई तेलको उत्पादन बढाउन आग्रह गरिरहेको छ तर दुवै देशले अमेरिकाको आग्रह सुनेका छैनन् ।
यी दुवै देशका प्रमुखहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गर्न नै अस्वीकार गरेको द गार्डियनले बताएको छ । जबकि दुवै देशका प्रमुखहरु रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने लगातार सम्पर्कमा छन् । अमेरिकाको बाइडेन सरकार रुसमाथि आर्थिक दबाब बढाउन साउदी र युएइले ततकाल तेलको उत्पादन बढाओस् भन्ने चाहन्छ । अमेरिकामा नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ । बाइडेनको डेमोक्रेटिक पार्टी अमेरिकाको कंग्रेसमा आफ्नो प्रभुत्व कायम राख्न चाहन्छ । यस्तोमा बाइडेन प्रशासन तेलको मूल्य नियन्त्रणमा राख्न चाहन्छ ।
तर, मध्यपूर्वका दुवै ठूला तेल शक्तिहरु बाइडेनको यो इच्छा पूरा गर्ने बाटोमा अवरोध बनिरहेका छन् । बाइडेन प्रशासनले कैयौं पटक साउदी र युएइलाई तेल उत्पादन बढाउन कैयौं पटक आग्रह गरेको छ जसलाई अहिलेसम्म दुवै देशले मानेका छैनन् । युएइले गत हप्ता अमेरिकालाई तेल उत्पादक देशहरुको संगठन ओपेकसँग यस बारेमा कुरा गरिदिने आश्वासन दिएको थियो । अमेरिकामा युएइका राजदूत युसेफ अल ओतैबाले गत बुधबार युएइले तेल उत्पादनको समर्थन गर्ने बताउँदै युएइले ओपेकलाई तेल उत्पादन बढाउने विषयमा विचार गर्न आग्रह गर्ने, जसबाट तेलको मूल्यमा १३ प्रतिशत कमी आउने बताएको थियो ।
युएइको यो आश्वासनपछि पनि तेल उत्पादन बढाउने विषयमा कुनै कारवाही गरिएको छैन र साताको अन्त्यमा कच्चा तेलको मूल्य १३० डलर प्रतिब्यारल पुग्यो । तेलको मूल्य यसरी बढ्नु अमेरिकाको लागि ठूलो चिन्ता हो । साउदीका राजकुमार मोहम्मद बिन सलमान सत्तामा आएदेखि नै अमेरिकासँग उनको सम्बन्ध ठिक छैन । ट्रम्पको पालामा केही सन्तोषजनक रहेको सम्बन्ध बाइडेन आएपछि झनै बिग्रिएको छ र अहिले अमेरिका–साउदी सम्बन्ध सबैभन्दा तल्लो स्तरमा छ ।
बाइडेन प्रशासनले पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी सरकारको कथित संलग्नता, यमन युद्ध, मानव अधिकार कार्यकर्ताहरुलाई जेल हालिनु हादि कारणले साउदी सरकारसँग दूरी बढाएको छ । युएइसँग पनि अमेरिकाको सम्बन्ध ठिक छैन । राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा युक्रेनमा रुसी आक्रमणको निन्दा गर्ने विषयमा भएको मतदानमा युएइले मतदान गरेन । युएइको यो निर्णयले अमेरिका झस्किएको छ । बाइडेन प्रशासनले इरान समर्थित हुती विद्रोहीहरुलाई आतंकवादीको सूचीबाट हटाएपछि युएइ र साउदी अरब अमेरिकासँग असन्तुष्ट छन् ।
युएइको कन्सल्टेन्सी कमर एनर्जीका सीइओ रबिन मिल्सले द गार्डियनसँग कुरा गर्दै तेलको उत्पादन बढाएर तेलको मूल्य कम गर्नु एक सिधा प्रक्रिया भएको तर राजनीतिले यसलाई कठिन बनाइदिएको बताए । युएइ र साउदी ओपेकका ठूला सदस्य हुन् । मिल्सले भने ‘उनीहरु एक महिनाभित्र आपूर्ति बढाउन सक्छन् र ९० दिनभित्र पूरै क्षमतामा पुग्न सक्छन् । तर, सबै देशहरुले आफ्नो हिसाबले सधैं ओपेक सम्झौतामा धोका दिएका छन् । तेल उत्पादनलाई निश्चित रुपले छिटो बढाउन सकिन्छ ।’







डिसी नेपाल







Facebook Comment