रुसले चीनसँग सहयोग मागेको विषयमा चीन–अमेरिका विवाद बढेपछि रुसले नै प्रस्ट पार्‍यो

डिसी नेपाल
१ चैत २०७८ १६:४६
5.1k
Shares

काठमाडौं। रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी मिडियामा रिपोर्ट प्रकाशित भएपछि अमेरिका र चीन आपसमा अल्झिएका छन् । यद्यपि रुसले नै आफूले चीनसँग कुनै सैन्य सहयोग नमागेको र युक्रेनमा अभियान चलाउनको रुस आफैं सक्षम भएको प्रस्ट पारेको छ । तर, यस विषयमा रुसको पक्ष सार्वजनिक हुनुभन्दा पहिले नै अमेरिका र चीनबीच बयानबाजी सुरु भइसकेको छ ।

अमेरिकाले रुस युक्रेन युद्धमा रुसलाई सहयोग गर्ने विषयमा चीनलाई चेतावनी दिइसकेको छ । अर्कोतर्फ चीनको सत्ताधारी कम्युनिस्ट पार्टी ग्लोबल टाइम्सका पूर्व सम्पादकले अमेरिकालाई नै सल्लाह दिएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्सको रिपोर्टमा रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको र रुसले युक्रेनमा आफूलाई चीनले सैन्य सामान आपूर्ति गरिदेओस् भन्ने चाहेको दावी गरिएको थियो । रिपोर्टमा चीनले रुसलाई सहयोग गर्न सक्ने पनि बताइएको थियो ।

लगत्तै अमेरिकाले चीनलाई युक्रेन आक्रमणमा रुसलाई सहयोग गरे यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । सोमबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एनबीसी न्यूजसँग कुरा गर्दै भनेका थिए ‘अमेरिकाले यो सुनिश्चित गर्नेछ कि रुसको आर्थिक नोक्सानीको भरपाइ चीन वा कुनै अरु देशले नगरुन् ।’

चीनले आधिकारिक रुपमा यसबारे बोलेको छैन तर अमेरिकामा चिनियाँ दूतावासका प्रवक्ता लियु पेंग्युले चीनको उद्देश्य युक्रेनमा युद्धलाई अनियन्त्रित हुनुबाट रोक्नु भएको बताएका थिए । अर्कोतर्फ ग्लोबल टाइम्सका पूर्व सम्पादक हु शिजिनले लेखेका छन् ‘मलाई लाग्छ चीन र अमेरिका एउटा सहमतिमा पुग्नुपर्छ कि सबै देशले रुस युक्रेन संकटमा कुनै पनि पक्षलाई सैन्य सहायता दिनु हुँदैन । उनीहरुलाई केवल मानवीय सहयोगको अनुमति होस् ।’

यसैबीच रुसले युक्रेनमा आक्रमणको क्रममा चीनसँग कुनै सैन्य सहयोग नमागेको प्रस्ट पारेको छ । रुसले ‘एक्लै युक्रेनमा आफ्नो विशेष सेन्य अपरेशन चलाउन सक्ने’ बताएको छ । रुसी प्रवक्ता दिमित्री पेस्कोभले चीनसँग सहयोग मागिएको सम्बन्धी प्रश्नमा सफाइ दिँदै युक्रेनमा चलाइएको रुसको सैन्य अभियान सफल रहने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *